काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
२०८० साउन ७ गते आइतबार राष्ट्र बैङ्कले मौद्रिक नीति सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैङ्कले नीतिगत दर घटाएको छ भने बैङ्क तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत् राखेको छ ।
त्यस्तै, बैङ्कदर यथावत राखिएको छ भने निक्षेप सङ्कलनको बोलकबोल दरलाई घटाइएको छ ।
“आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई छ दशमलव पाँच प्रतिशत कायम गरिएको छ” मौद्रिक नीतिमा भनिएको छ– “बैङ्क दरलाई साढे सात प्रतिशतमा यथावत राखी निक्षेप सङ्कलन बोलकबोल दरलाई पाँच दशमलव पाँच प्रतिशतबाट घटाएर चार दशमलव पाँच प्रतिशत कायम गरिएको छ ।”
राष्ट्र बैङ्कले सञ्चालन लक्ष्यका रूपमा लिने भारित औसत अन्तरबैङ्क ब्याजदर बैङ्क दरभन्दा उच्च र निक्षेप सङ्कलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप सङ्कलन बोलकबोल खुला गरिने जनाएको छ ।
त्यस्तै, बैङ्क दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई यथावत राखिएको छ ।
ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन भन्दै राष्ट्र बैङ्कले ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप सङ्कलन सुविधा उपलब्ध गराउने व्यवस्था गरिने जनाएको छ । बैङ्क तथा वित्तीय संस्थाको विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ ।