काडमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले संघीयता विरुद्धको काठमाडौं मार्च तत्कालका लागि स्थगित गरिएको जनाएको छ । कोरोना भाइरसको संक्रमणका कारण स्थगित गरिएको संघीयता विरुद्धको आन्दोलन उपयुक्त समयमा फेरि सञ्चालन गर्ने वक्तव्यमार्फत अखिल (छैठौं) ले प्रतिवद्धता जनाएको छ ।
अखिल (छैठौं) ले आगामी चैत १ देखि ५ गतेसम्म संघीयता विरुद्ध काठमाडौं मार्चको तयारी गरेको थियो । तर, कोरोना भाइरसको संक्रमण फैलने आशंकामा अन्तिम समयमा कार्यक्रम स्थगित गरेको हो । अध्यक्ष विमल पोखरेलले स्थगित मार्च उपयुक्त समयमा सञ्चालन गर्ने जनाउनुभएको छ ।
सोमबार मात्रै नेकपा (मसाल) ले कोरोना भाइरसको संक्रमण फैलने आशंकामा ठुलो संख्यामा जनउपस्थिति रहने सबै भेला, सम्मेलनहरु स्थगित गर्ने जनाएको थियो ।
प्रेस वक्तव्य
‘चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वव्यापी रुप लिएको छ । चीनमा मात्रै झण्डै एक लाख संक्रमित भएका छन् । संक्रमणबाट चीनमा तीन हजार जनको मृत्यु भएको छ । संक्रमणका कारण अन्य देशमा पनि मृत्यु भएको छ । कोरोनाको संक्रमण युरोप,अमेरिका,अष्ट्रेलिया,एसियाका धेरै देशहरुमा फैलिइसकेको छ । नेपालमा हालसम्म कोरोनाको संक्रमण नदेखिएको भए तापनि विश्व स्वास्थ्य संगठनले उच्च जोखिममा रहेको सार्वजनिक गदैै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
नेपाल सरकारले भ्रमण बर्ष, सगरमाथा समिट स्थगित गरेको छ भने प्रदेश सरकारहरुले पनि आफ्ना कार्यक्रम स्थगित गरेका छन् । कोरोनाको संक्रमण फैलिन नदिन विदेशी नागरिकको नेपाल आगामनमा उच्च सतर्कता अपनाउन, विमानस्थलमा सम्पुर्ण जाँच गर्न र कोरोनाबाट संक्रमित देखिएमा उपचारको उचित व्यवस्था गर्न सबै उपायहरु अबलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिन चाहान्छौं ।
अखि (छैठौं)ले २०७६ चैत्र १ गतेदेखि ५ गतेसम्म ‘संघीयताविरुद्व काठमाडौं मार्च’ आयोजना गरेको थियो । संघर्षको लागि देशव्यपी तयारी भइरहेको थियो । हजारौंको सहभागिता रहने उत्त संघर्षको कार्यक्रम गर्न कोरोना संक्रमणको उच्च जोखिम हुने भएका कारण हाललाई स्थगित गरिएको छ । परिस्थिति सहज भएपछि संघर्षका कार्यक्रमबारे पछि निर्णय गरिनेछ ।
अखिल (छैठौं)का सम्पूर्ण तहका समितिहरु, आबद्व सम्पूर्ण सदस्यहरु कोरोना भाइरसबाट जोगिन सचेतना अपनाउन परिचालन हुनको लागि अनुरोध गर्दछौं।’