कुवेत । कुवेतस्थित साल्मिया समुद्रमा पौडी खेल्न जाँदा छालले बगाएर बागलुङ ढोरपाटन नगरपालिका वडा नम्बर ४ खुङ्गा धिरी सुवाखोलाका राजन छन्त्यालको निधन भएको छ भने दुई जना घाइते भएका छन् ।
कुवेतमा यति बेला अत्यधिक गर्मी बढेसँगै चर्को गर्मी छल्नका लागि समुद्रमा पौडी खेल्न जाँदा जुलाई १५, २०२३ शनिबारका दिन यो घटना भएको हो ।
पौडी खेल्दै गर्दा एक्कासि समुद्री छालले तानेर निकै पर पुर्याएपछि उनीहरू अत्तालिएका थिए । त्यतिन्जेलसम्म मृतक राजनलाई समुद्री छालले आँखाले ठम्म्याउँनै नसकिने गरी पर पुर्याइसकेको थियो । उनलाई बचाउन साथीहरूले ज्यानको बाजी थापेर समुद्रमा पौडिएका थिए । साथीहरूले प्रयास गरेर राजनलाई निकाल्न त सफल भए तर त्यतिन्जेलसम्म राजनको निधन भइसकेको थियो ।
राजन मात्रै होइन, उनीसँगै पौडी खेलिरहेका अन्य दुई जना नेपालीलाई पनि समुद्री छालले लगेको थियो । उनीहरूलाई साथीहरूले उद्वार त गरे तर अवस्था नाजुक नै भइसकेको थियो । उनीहरूलाई कुवेत प्रहरीले तत्काल अस्पताल पुर्याएको थियो । उनीहरू अहिलेसम्म उपचाररत अवस्थामा नै छन् ।
पानीमा डुबेर घाइते भएका दुई जनाको अझै परिचय खुलिसकेको छैन । मृतक राजन छन्त्यालको शवको बारेमा परिचय खुलेपछि उनी कार्यरत कम्पनीले नेपाली राजदूतावाससँग समन्वय गरी शव नेपाल पठाउने प्रकिया पूरा गरिसकेको जानकारी दूतावास स्रोतले गराएको छ ।
श्रोतका अनुसार एकदुई दिनमै उनको शव नेपाल पुग्ने बताइएको छ ।
मृतक छन्त्याल एउटै कम्पनीमा कतार र कुवेत गरी छ वर्ष काम गरेका थिए । निजको घरमा पत्नी र एक नाबालक छोरा रहेको जानकारी मिलेको छ ।