बागलुङबजार । बागलुङ गलकोट नगरपालिका वडा नं. ९ मा रहेको समुन्नत एग्रो फर्ममा बाख्रालाई घाँस राख्दै छन् रमेश बस्नेत । उनी बिहान सबेरै उठेदेखि साँझ अबेरसम्म नै यही बाख्रा फर्ममा हुन्छन् । बाख्रालाई घाँस हाल्ने, पानी दिने, दाना दिने र रेखदेख गर्ने ।
गत दुई वर्षदेखि बाख्रापालनमा रमाइरहका गलकोट नगरपालिका वडा नं. ५ का ३४ वर्षीय बस्नेत बाख्रापालनबाट नै आर्थिक उन्नतिको भविष्य देख्छन् ।
‘बाख्रापालन आर्थिक उन्नतिको राम्रो श्रोत हो भन्ने ठानेर म यसैमा होमिएको छु’ उनी भन्छन्– ‘आम्दानी हुन केही ढिलो होला तर राम्रो हुन्छ भन्ने ठानेको छु ।’
उनको फर्ममा अहिले बोयर जातका ७० ओटा बाख्रा रहेका छन् ।
बाख्रामै लगानी थप गरिरहेका बस्नेतले उत्पादन भएका बोका बिक्रीको लागि समस्या नहुने बताए ।
‘बजारको लागि कुनै समस्या छैन, गाउँमै पनि बिक्री भइरहेका छन्’ उनले भने– ‘उत्पादन गर्न सके बजारको कुनै समस्या हुँदैन ।’
बोयर जातको बोकाको एक केजी मासु एक हजार रुपैयाँमा बिक्री हुने गर्दछ ।
उनले पछिल्लो दुई वर्षमा ५० ओटा बोका बिक्री गरेका छन् यद्यपि त्यो आम्दानी बाख्रापालनमा नै थपिरहेका छन् ।
लगानीबारे खासै खुलाउन नचाहने बस्नेत लामो समय जापान बसेर फर्किएका हुन् ।
अध्ययनका लागि जापान पुगेका उनी करिब ८ वर्षको जापान बसाइँ सकेर नेपाल फर्किएका हुन् ।
कोभिड–१९ को महामारीको समयमा नेपाल आएका उनी त्यहि समयदेखि नै बाख्रापालनमा होमिएका छन् ।
‘म पहिल्यैदेखि आफ्नै देशमा केही गर्नुपर्छ भनेर सोचिरहेको थिएँ, नेपाल आएको समयमा कोभिड–१९ को महामारी फैलियो’ उनले भने– ‘यही समय आफ्नै देशमा स्वरोजगार बन्ने अवसर मिल्यो ।’
उनको अनुभवमा बाख्रापालन केही चुनौतिपूर्ण भए पनि आम्दानीको राम्रो श्रोत भएको बुझाइ छ । बाख्राफर्ममा उनीसँगै उनको परिवारले समेत साथ दिँदै आएको छ ।
बाख्रापालनलाई व्यवस्थित गर्न सरकारी निकायले प्राविधिक सहयोग गर्नु पर्ने उनको बुझाइ छ ।
‘बाख्रालाई बिभिन्न रोगहरू लाग्न सक्छ । विभिन्न समस्याहरू आउन सक्छ’ उनले भने– ‘त्यस समयमा राज्यको सहयोग आवश्यक पर्दछ ।’
उनले हाल सरकारले दिने सहयोग त्यति धेरै व्यावहारिक नभएको बताए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र बागलुङद्वारा करिब एक लाख रुपैयाँ अनुदान पाएका उनले अनुदान भौतिक संरचना केन्द्रित रहेको बताए ।
‘नयाँ बाख्रापालकको लागि त्यो पनि राम्रै हुन सक्छ तर बाख्रापालन गरिरहेकालाई संरचना नै बनाउन मात्र दिनु व्यावहारिक मानिँदैन किनकि संरचना तयार नै हुन्छ’ उनले भने– ‘अन्य प्राविधिक क्षेत्रमा सहयोग गर्नुपर्छ ।’
बागलुङ जिल्ला मासु उत्पादनमा आत्मनिर्भर रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले आगामी दिनमा हुने अनुदान कृषकको माग बमोजिम हुने बताए ।
‘आगामी दिनमा बाख्रापालक कृषकको आवश्यकतालाई हेरेर कार्यक्रम ल्याउँछौँ’ उनले भने– ‘हाम्रो काम कृषकलाई प्रबर्धन गर्नु हो त्यसैले उहाँहरूलाई सहयोग पुग्ने गरी कार्यक्रम ल्याउँछौँ ।’
उनले बागलुङ मासु उत्पादनमा आत्मनिर्भर जिल्ला रहेको बताए ।
जिल्लामा ५० ओटा भन्दा धेरै बाख्रा पाल्ने एक सयभन्दा धेरै बाख्रा फर्म रहेको बताए । तिनै फर्मबाट उत्पादित बोकाले मासुलाई आत्मनिर्भर बनाउन मदत पुर्याएको छ ।
‘बागलुङ मासुमा आत्मनिर्भर रहेको छ । पछिल्लो केही वर्ष बागलुङका मासु पसलमा जिल्लाबाहिरबाट बोका ल्याएको देखिँदैन’ उनले भने– ‘प्राय: सबै पसलमा जिल्लामै उत्पादन भएका बोकाको मासु बिक्री गरिन्छ । यसले कृषकलाई आत्मनिर्भर बन्न सघाएको छ ।’