हङकङ । बागलुङका विभिन्न रोगद्वारा पीडित बिरामीका लागि हङकङमा गत जुन २३ देखि आर्थिक सहयोग सङ्कलन भइरहेको छ ।
बागलुङ समाज हङकङको पहलमा गत जुन २३ देखि सुरु गरिएको उक्त सहयोग अभियान आगामी जुलाई २१ (२०२३) सम्म चल्ने छ ।
समाजका सचिव शक्तमान बुढाथोकीका अनुसार हालसम्म ३५ जनाले सहयोग गरिसक्नुभएको छ भने सहयोग उठाउने कार्य जारी छ । सहयोगका लागि समाजले बैङ्क खाता सञ्चालनमा ल्याएको छ ।
बिरामीहरूमा काठेखोला गाउँपालिका वडा नम्बर ४ तङ्ग्राम निवासी २४ वर्षीय बोमबहादुर पुन रहेका छन् । दुवै मृगौला फेल भएकाले उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, बडिगाड गाउँपालिका वडा नम्बर १ दगातुन्डाँडा हीरा छन्त्याल चौथो चरणको स्तन क्यान्सरबाट पीडित छन् । उनको गत एक वर्षदेखि भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानीका ३४ वर्षीया ऋतु पुन पनि क्यान्सरपीडित छिन् । उनको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ ।

बडिगाड गाउँपालिका वडा नम्बर ८ रणसिंह किटेनीका ५६ वर्षीय गोबिराम घर्ती पनि क्यान्सरपीडित छन् । उनको वी.पी. कोइराला अस्पताल चितवनमा उपचार भइरहेको छ ।

त्यस्तै, बागलुङ नगरपालिका वडा नम्बर ११ रायडाँडाका लीलबहादुर क्षेत्री स्पाइनल इन्जुरीबाट पीडित छन् । उनको उपचार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भइरहेको छ ।

बिरामी पाँचै जनालाई सहयोग गर्न सम्बन्धिन वडाअध्यक्षले बागलुङ सेवा समाजलाई पत्र पठाएका थिए । सोही आधारमा समाजले आर्थिक सङ्कलन अभियान चलाएको हो ।

