काठमाडौँ । दस करोड रुपियाँ क्षतिपूर्ति माग्दै अभिनेता भूवन केसी जिल्ला अदालत काठमाडौँमा दायर गरेको मुद्दा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले जितेकी छिन् ।
न्यायाधीश वासुदेव पौडेलको इजलासले २०८० असार २६ गते बुधबारका दिन साम्राज्ञी शाह विरुद्ध भूवन केसीले दिएको गालीबेइज्जती मुद्दाको दाबी नपुग्ने फैसला गरेको हो ।
जिल्ला अदालत काठमाडौँको वेबसाइटमा उल्लेख भएअनुसार साम्राज्ञी शाहले भूवन केसीले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । यसपछि भूवन केसीले उनी विरूद्ध १० करोड रुपियाँ क्षतिपूर्ति माग गर्दै गालीबेइज्जती मुद्दा हालेका थिए ।
साम्राज्ञी शाहका वकिल तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि बुधबारै अन्तिम बहस सकिएको र आफ्नो पक्षले मुद्दा जित्ने गरी फैसला आएको बताए ।
‘अन्तिम बहस आज भएको थियो । न्यायाधीश वासुदेव पौडेलले भूवन केसीले लगाएको मुद्दामा उनको दाबी नपुग्ने फैसला गर्नुभएको छ’ उनले भने– ‘फैसला हाम्रो पक्षमा आएको छ । यसको पूर्ण पाठ आउन भने समय लाग्ने अदालतले हामीलाई जानकारी गराएको छ ।’
यता, साम्राज्ञीले पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूले मुद्दा जितेको भन्दै भिडिओ पोस्ट गरेकी छन् । उनले आफ्ना वकिल, प्रशसंक र सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।
सुटिङका क्रममा भूवन केसीले आफूमाथि यौन दुव्र्यवहार गरेको भन्दै साम्राज्ञी शाहले तीन वर्षअघि सामाजिक सञ्जालमार्फत् आरोप लगाएकी थिइन् ।