काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ । मंगलबार थप दुई जना पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या १४ पुगेको हो ।
प्रहरीले मंगलबार मालपोत कार्यालयका तत्कालीन नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो।
सो प्रकरणमा पक्राउ परेका १४ जना थप पाँच दिन हिरासतमै रहने भएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित १४ जनालाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति जिल्ला अदालत काठमाडौंले दिएको हो।
यही आइतबार प्रहरीले पूर्व नापी अधिकृत ध्रुब अर्याल र समर्जङ कम्पनीको प्रमुख लोकहरी घिमिरेलाई पक्राउ गरेको थियो।
आइतबार काठमाडौंको त्रिभुवन विमानस्थलबाट सरकारका उच्च पदस्थ व्यक्तिसमेत रहेका राउत पक्राउ परेका थिए।
त्यसपछि मंगलबार यो प्रकरणमा जोडिएका थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
यसअघि गत असार १२ गते भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जना एकैपटक पक्राउ परेका थिए।
गुरुङसहित धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो।
सीआईबीले पक्राउ गरेका अन्य तीन जनालाई भने त्यही दिन छाडेको थियो। उनीहरूलाई सर्वोच्चबाट पक्राउ नगर्न आदेश जारी भएको थियो।
त्यस्तै, प्रकरणमा जोडिएका काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो।
त्यसपछि समरजङ कम्पनीका तत्कालीन प्रमुख रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई प्रहरीले पक्राउ गरेको थियो।