काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
मन्त्रिपरिषद बैठकले मोटा धानको प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धानको प्रतिक्वीन्टल ३ हजार ३६२ रुपैयाँ समर्थन मूल्य पनि तोकेको हो ।
यस्तै, सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ ।
मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले सो घटनाबारे दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरेको हो ।
बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको मन्त्री शर्माले जानकारी दिइन् । त्यसैगरी बैठकले मिटरब्याज सम्बन्धि जाचबुझ आयोगको म्याद ३ महिना थप गर्ने निर्णय पनि गरेको छ ।
सरकारले लक्ष्मीकुमारी बस्नेतलाई सचिव पदमा बढुवा समेत गरेको छ । बरियताको आधारमा बस्नेतलाई सचिव पदमा बढुवा गरिएको पनि मन्त्री शर्माले बताइन् ।