काठमाडौं । भारतमा पहिरोले पुरिएर नेपालका एकै परिवारका तीन जनाको मृत्यु भएको छ । कामको खोजीमा भारत गएका रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ का एकै परिवारका तीन जनाको पहिरोमा पुरिएर ज्यान गएकोे हो ।
हिमाञ्चल प्रदेशस्थित सिम्ला जिल्लाको क्यारामा सोमबार विहान गएको पहिरोमा पुरिएर त्रिवेणी–९ खहरेका ५० वर्षीय देबबहादुर वली, उनकी श्रीमती ४८ वर्षीय भिमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वलीको मृत्यु भएको हो।
वलीको परिवारै मजदुरीका लागि भारतमा गएको थियो । उनीहरू कोठाभित्रै रहेको बेलामा पहिरो खसेको थियो। जेठा छोरा लोकेन्द्र भने पहिरो आउँदा बाहिर भएकाले जोगिएको त्रिवेणी–९ का वडाध्यक्ष हरिबहादुर खड्काले जानकारी दिए ।
घरमा अहिले बुहारी मात्रै भएको बताइएको छ । पहिरोमा जोगिएका लोकेन्द्रलाई लिन गाउँपालिकाबाट दुई जनालाई पठाइएको वडाअध्यक्ष खड्काले बताए ।
सो क्षेत्रमा केही दिन यता परेको अविरल पानीका कारण बाढी पहिरो गइरहेको छ ।