जनकपुर । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष जितेन्द्र चौधरी भारतीय नागरिक भएको प्रमाण फेला परेको छ । स्थानीय तहको चुनावमा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित चौधरी भारतको सीतामढी जिल्लाको सिरसिया बजारका बासिन्दा भएको बताइएको छ ।
भारतीय निर्वाचन आयोगको फोटोसहितको मतदाता सूचीमा वडाध्यक्ष चौधरी र उनका बुबाको नाम भेटिएको छ । चौधरीले सन् २०१९ मा सम्पन्न भारतको लोकसभा चुनावमा भोट हालेको प्रमाणसमेत फेला परेको छ ।
फर्जी कागजात पेस गरेर नेपाली नागरिकता लिएको दाबी गर्दै प्रमाणसहित स्थानीय हरिश्चन्द ठाकुरले जिल्ला प्रशासन कार्यालय (महोत्तरी)मा चौधरीविरुद्ध कारबाहीका लागि उजुरी दिएका छन् ।
उनीविरुद्ध यसअघि नगरपालिकामा समेत उजुरी परेको थियो । तर, नगरपालिकाले नागरिकताको अनुसन्धान आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा पठाएको थियो । उजुरीबारे छानबिन भइरहेको महोत्तरी जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।