काठमाडौँ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कुल रु ११ खर्ब १२ अर्ब ५२ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ ।
नेपाल राष्ट्र बैङ्कले २०८० असार २५ गते सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा सो जानकारी दिइएको हो ।
प्रतिवेदनका अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्म विप्रेषण आप्रवाहमा २२ दशमलव सात प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह चार दशमलब एक प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई आठ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह एक दशमलव आठ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा बैदेसिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४६ दशमलव छ प्रतिशतले वृद्धि भई चार लाख ५९ हजार चार १५ पुगेको छ ।
त्यसैगरी, बैदेसिक रोजगारीका लागि पुन: श्रमस्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा शून्य दशमलवब पाँच प्रतिशतले वृद्धि भई दुई लाख ६० हजार दुई सय ६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई सय आठ दशमलव तीन प्रतिशतले बढेको थियो ।
केन्द्रीय बैङ्कका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर २१ दशमलव नौ प्रतिशतले वृद्धि भई रु १२ खर्ब २९ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर तीन दशमलव आठ प्रतिशतले बढेको थियो ।