जलेश्वर । महोत्तरी जिल्लामा असार महिना सकिन लाग्दा पनि १० प्रतिशत मात्रै रोपाइँ भएको छ ।
कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा रामचन्द्र यादवका अनुसार यसपालि किसानले समयमै धानको ब्याड (बिउ) राख्न नपाएको र अहिलेसम्म पर्याप्त रूपमा पानी नै नपर्दा धान रोपाइँमा ढिलाइ भएको हो ।
उहाँले गत वर्ष अहिलेसम्मको अवधिमा जिल्लामा ५० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेकोमा यस वर्ष अहिलेसम्म १० प्रतिशत धान मात्रै रोपाइँ भएको बताउनुभयो ।
महोत्तरीमा धान खेतियोग्य जग्गा ५० हजार हेक्टर रहेकामा बर्सेनि औसतमा ४५ हजार हेक्टर जग्गामा धानखेती हुँदै आएको छ तर यस वर्ष सो सङ्ख्या घट्ने अनुमान गरिइएको छ ।
जिल्लामा १२ महिना सिँचाइ पुगेको जग्गा २१ हजार हेक्टर मात्रै रहेको छ र अन्य जग्गामा अहिले पनि आकाशे पानीकै भरमा धान खेती हुँदै आएको केन्द्रले जनाएको छ । किसानलाई चाहिएको बेला पानी परेको वर्षमा धान खेतीमा वृद्धि र समायमा पानी नपर्दा धान खेतीमा ह्रास आउने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ ।
कार्यालय प्रमुख डा यादवले जिल्लामा धानखेती प्रवद्र्धनका लागि कार्यालयबाट किसानको खेतीमा सिँचाइ पुर्याउने उद्देश्यले यस वर्ष १२० स्यालो ट्युवबेल जडान गर्न सम्झौता गरेको, ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण गरेको, बिउ भण्डारण र प्रशोधनको प्रबन्ध मिलाएको र किसानका लागि मिल तथा अन्य आवश्यक कृषि प्रयोजनको सामग्री उपलब्ध गराएको बताउनुभयो । (रासस)





