भद्रपुर । प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत सञ्चालित ‘गाई ब्लक विकास’ कार्यक्रम जिल्लामा प्रभावकारी बनेको छ ।
आर्थिक वर्ष २०७८/७९ देखि सुरु भएको सो कार्यक्रम चालु आर्थिक वर्षसम्म यथावत् रहेको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईका अनुसार किसानलाई यस कार्यक्रममार्फत् गाईको दुध बेचेरै जीविकोपार्जन गर्नसमेत मदत गरेको बताउनुभयो । उहाँले इलाम र झापा गरी दुई सहकारीमार्फत् यो कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
अर्जुनधारा नगरपालिका–१ खुदुनाबारीका अधिकांश किसानले सोही कार्यक्रममार्फत् गाईको दुध बेचेरै जीविकोपार्जन गरिरहेका छन् । उनीहरूलाई हाम्रो स्वावलम्बी उद्यमी महिला सहकारी संस्थाले दुध खरिद गरेर सहयोग गरेको छ ।
सहकारीमार्फत् नै प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गतको ‘गाई ब्लक विकास कार्यक्रम’ समेत सञ्चालन भइरहेको छ ।
गाई ब्लक विकास कार्यक्रम सञ्चालनका लागि केन्द्रले पहिलो वर्ष रु ७० लाख र दोस्रो वर्ष रु ३० लाख गरी रु एक करोड अनुदानसमेत प्रदान गरेको छ । सो रकम सहकारीले किसानलाई गाई गोठ निर्माण, उन्नतजातका गाई खरिद, मिल्क एनलाइजरलगायतका औजार खरिदका लागि अनुदान प्रदान गरेको केन्द्रकी प्रमुख शीतल भट्टराईले बताउनुभयो ।
विसं २०७५ देखि सञ्चालन गरिएको सहकारीले पालिका र वडाको आर्थिक सहयोगमा २०७७ सालमा दुध सङ्कलन केन्द्र सुरु गरेको थियो । पालिकाले रु आठ लाख र वडाले रु दुई लाख सहयोग प्रदान गरेपछि दुध सङ्कलन केन्द्र सुरु गरिएको सहकारीकी व्यवस्थापक सुशीला तामाङले बताउनुभयो । (रासस)