खिमराज चालिसे, चन्डिगढ (भारत) ।
भारतको पन्जाब राज्यको डेराबसीमा जुलाई २, २०२३ का दिन उपचारको क्रममा हस्पिटलमा मृत्यु भएका श्रीधर थापाका आफन्तहरू सम्पर्कमा नआएपछि दाहसंस्कार गरिएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले जुलाई ८, २०२३ शनिबारका दिन दाहसंस्कार गरेको हो ।
डेराबसी प्रशासनले मूल प्रवाहका नेताकार्यकर्ताहरूलाई पोस्टमार्टमपश्चात् श्रीधर थापाको शव हस्तान्तरण गरेको थियो ।
दाहसंस्कारपछि मूल प्रवाह एकता समाजका नगर सदस्य सञ्जय विकको अध्यक्षतामा तथा दिलमाया लुइँटेलको सञ्चालनमा शोकसभा सम्पन्न गरिएको थियो । शोकसभाको पूर्वाद्र्धमा एक मिनेट मौनधारण गरिएको थियो ।
शोकसभामा हस्पिटलदेखि दाहसंस्कारसम्मको सम्पूर्ण खर्च मूल प्रवाहका साधारण सदस्य मदन माझीले व्यहोर्नुभएको थियो ।
उहाँले प्रवासमा मूल प्रवाह जस्तै सङ्गठनको आवश्यकता रहेको धारणा राख्नुभयो ।
शोकसभामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका क्षेत्रीय सदस्य काजिमान राई, प्रवासी नेपाली सङ्घका दीपक डाँगी र हुकुमसिंहलगायतले पनि शोकमन्तव्य राख्नुभएको थियो ।
दाहसंस्कारमा मूल प्रवाह एकता समाजसमेत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।