कृष्ण अधिकारी ##
बागलुङमा दर्जनौँ सहकारी संस्थाहरू सञ्चालनमा छन् । तीमध्ये कतिले सहकारीको उद्देश्यअनुसार सहकार्य गरेर चलेका छन् वा सहकारीका नाममा अनियमितता गरेका छन्, अब धेरै सचेत भएर कारोबार गर्नुपर्ने भएको छ ।
बागलुङमा स्थापना भएको छोटो समयमै इमेज बचत तथा ऋण सहकारी संस्थाले अर्बौंको कारोबार गरेको देखिन आएको छ । गत वर्ष (२०७९ पुस २४ गते) बागलुङ बजारमा सम्पन्न इमेज बचत तथा ऋण सहकारी संस्थाको दसौँ साधारण सभामा उक्त संस्थाले एक अर्ब १४ करोड ५८ लाख ६२ हजार तीनसय ५३ रुपयाँ कुल सम्पत्ति भएको दाबी गरेको थियो । बागलुङ बजारमा मात्र उक्त सहकारीका ८ सय जना सेयर सदस्य र तीन हजार दुई सय जना बचतकर्ता रहेको बताइएको छ ।
बागलुङको बुर्तिबाङ र गल्कोट तथा कास्कीको पोखरा सृजनाचोकमा इमेज सहकारीले आफ्ना सेवा केन्द्र सञ्चालन गर्दै आएको थियो । बागलुङ र पोखराका यी चारओटा सेवा केन्द्रबाट इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक तथा बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले बचतकर्ता सर्वसाधारण जनताको दुई अर्ब निक्षेप अपचलन गरेको आरोप लागेको छ र उनी जेष्ठ ५ गतेदेखि फरार रहेका छन् । हालसम्म बागलुङ बजार शाखाका प्रबन्धक शक्ति किसान, बुर्तिबाङ सेवा केन्द्रका सञ्चालक चित्रबहादुर भण्डारी र एक जना कर्मचारी लालमति रोकालाई प्रहरीले गिरफ्तार गरेको छ ।
पहिला निकै विकट रहेको बागलुङको पश्चिम भेक ढोरपाटनको बुर्तिबाङ बजार मध्यपहाडी लोकमार्गले छोएपछि भने अहिले धेरै सुगम भएको छ । हालको ढोरपाटन नगरपालिका वडा नं. २ बुर्तिवाङ बजारसँगै जोडिएको गाउँ सलामकोटमा जन्मिएका नेपालीको १५/१६ वर्ष अगाडिको अवस्था अन्य गाउँलेका जस्तै परिवार धान्न बैदेसिक रोजगारीमा जानुपर्ने वा निमेक, पाहुर गर्नुपर्ने वा मागेर गुजारा गर्नुपर्ने स्थिति थियो ।
दुई/चार दिनअगाडि सम्म आफूले त्यो हैसियत सोच्दै नसोचेका नेपालीले आफूले टिकट पाएपछि बाक्लै दलित जातीय जनमत भएको, त्यस क्षेत्रमा एकातिर दलित जातीय भावनामाथि खेल्दै र अर्कोतिर, करोडौँ पैसा खर्च गरेर चुनाव जित्नलाई ज्यान फालेर लागे । राष्ट्रिय जनमोर्चा र नेपाली काङ्ग्रेसका उम्मेदवारलाई पराजित गरेर उनी ढोरपाटन नगरपालिकाको मेयरमा निर्वाचित भए ।
पहिले नेकपा (मसाल) को राम्रै प्रभावक्षेत्र रहेको यो क्षेत्र माओवादी जनयुद्ध कालमा माओवादीले पनि सङ्गठन विस्तार गर्दै लगे । सुरुमा नेकपा (मसाल) को प्रभावमा रहेका देवकुमार माओवादीहरू शान्तिप्रक्रियामा आएपछि उनी माओवादीमा खुले । पछि व्यवसायको सिलसिलामा पोखरा झरे । २०६७/६८ तिर पोखराको सृजनाचोकमा सामान्य साइकल दुकान खोलेर बसेका थिए ।
यो झन्डै डेढ दसकको अवधिमा देवकुमारको आर्थिक कायापलट देखेर उनलाई नजिकबाट चिन्नेहरूले धेरै अड्कलबाजी गर्दै आएका थिए । कतिपयले पत्नी छेला नेपालीमार्फत् तिब्बती पैसा चलाएको भन्थे । कतिले गाँजा चरेशको कारोबार छ पनि भने । उनले २०६९ बाट सहकारी सञ्चालन गर्न थालेपछि घरजग्गा कारोबार गर्दै गरेको भने प्रष्ट देखिन्छ ।
जनताको पैसा जम्मा हुँदै गएपछि देवकुमारको सुरुमै बुर्तिबाङ बजारमा भव्य घर (बुर्तिबाङमा त्यसलाई ‘दरबार’ भन्दा रहेछन्) ठडिन्छ । सुरुमै त्यो घर बनाउनुको उनको मुख्य उद्देश्य आफ्नो ठगिधन्दालाई माथि लगाउनु रहेछ । ‘दरबार’ बनेपछि आफ्नो सामाजिक प्रतिष्ठा बढाउन उनले शक्तिशाली राजनीतिक दलका उच्च नेता, उच्च प्रशासनका कर्मचारीलाई दरबारमा स्वागत गर्न थाले । सुरुवाती दिनमा माओवादी र पछि गएर नेकपा (एमाले) को उक्त दरबार अड्डा नै हुन पुग्यो ।
२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाको जिल्लाव्यापी चुनावी तालमेलको सहमति भयो र ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चालाई मेयर पद दिने सहमति हुँदाहुँदै नेकपा (एमाले) नेतृत्वले एकाएक मेयर पदमा देवकुमार नेपालीलाई टिकट दियो । दुई/चार दिनअगाडि सम्म आफूले त्यो हैसियत सोच्दै नसोचेका नेपालीले आफूले टिकट पाएपछि बाक्लै दलित जातीय जनमत भएको, त्यस क्षेत्रमा एकातिर दलित जातीय भावनामाथि खेल्दै र अर्कोतिर, करोडौँ पैसा खर्च गरेर चुनाव जित्नलाई ज्यान फालेर लागे । राष्ट्रिय जनमोर्चा र नेपाली काङ्ग्रेसका उम्मेदवारलाई पराजित गरेर उनी ढोरपाटन नगरपालिकाको मेयरमा निर्वाचित भए ।
अब राजनीतिक विश्वास पनि आर्जन गरेका देवकुमारलाई जोकोहीले अब औँला उठाउने पनि ठाउँ रहेन । कार्यकारी मेयरको पदलाई उनले यसरी प्रयोग गरे कि उनलाई निर्वाचित गराएको पार्टी, संस्था कम महत्त्वको भयो । उही व्यक्ति देवकुमार आफूलाई त्यस क्षेत्रको भगवान्को अवतारमा रूपान्तरित भएको प्रचार गर्न थाले र २०७७ को संविधान दिवसको अवसरमा जनताको सेवामा अहोरात्र खटिरहेको भनेर केपी ओली सरकारको पालामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट “सुप्रबल जनसेवाश्री तृतीय” जस्तो राष्ट्रिय मानपदवीसमेत पाउन सफल भए ।
जनताको सेवामा खटिएको भनेर २०७७ आश्विनमा राष्ट्रको तर्फबाट मानपदवी थापेका देवकुमारको भित्री धन्दा भने बेग्लै थियो ।
२०७७ भाद्र १७ गते ढोरपाटनमा गएको ठुलो पहिरोका कारण १२६ घर बाढीले बगाएको थियो । २२ जनाको बाढीमा परेर मृत्यु भएको थियो र १५ जना बेपत्ता भएका थिए । तिनै बाढीपीडितका नाममा देश तथा विदेशबाट नगद र जिन्सी सहयोग आएकोमा झन्डै तीन करोड हिनामिना भएको कुरा अहिलेका उपमेयर धनबहादुर कायतले सार्वजनिक गरेका छन् । बाढीपीडितका नामको रकम त हिनामिना गर्न सक्नेले ढोरपाटन नगरको आर्थिक रकम कति हिनामिना भए होला ?
सहकारीपीडितको माग जायज छ । उनीहरूको मागलाई राज्यले सम्बोधन गर्नुपर्छ । सहकारी सञ्चालकको सम्पत्ति छानबिन गरी सहकारीको बचत रकमबाट आफन्तको नाममा जोडेको सम्पत्तिलाई पनि राज्यले नियन्त्रणमा लिई जफत् गर्नुपर्छ र सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्नुपर्छ ।
केन्द्रको समेत नजरमा परेका देवकुमारका लागि स्थानीय जिल्ला पार्टी नेताहरू अब नगन्ने नै थिए । २०७९ को निर्वाचनमा उनले प्रतिनिधिसभा वा स्थानीय तह जहाँ चहायो, त्यहीँ टिकट पाउने हैसियतमा थिए । उनलाई आफ्नो व्यवसाय र धन्दा छोडेर देशको नीतिनिर्माण गर्ने थलोमा जानु थिएन । त्यसैले उनी २०७९ को स्थानीय निर्वाचनमा पनि नेकपा (एमाले) को टिकटमा ढोरपाटन नगरपालिकाकै मेयर पदमा निर्वाचन लडे र निर्वाचित पनि भए । उनले टिकट एमालेको लिए पनि एमालेको सङ्गठनात्मक पार्टी हैसियतले कम र आफूले स्थापित गरेको छट्टु हैसियत र जनताको जम्मा भएको करोडौँ पैसा खर्च गरेर बागलुङ जिल्लाभरिमा वाम प्रजातान्त्रिक गठबन्धनका विरुद्ध उनी एक्लैले चुनाव जिते ।
पहिला उनको नियत गलत नै भएको भए पनि दोस्रोपटक समेत पनि उनलाई जनताले त्यति धेरै विश्वास गर्दा अलिकति भए पनि उनको मनमा दया भन्ने भावना भएको भए उनी यसरी जनतालाई ठगेर भाग्ने थिएनन् । उनले आफूलाई पार्टीप्रति अलिकति पनि उत्तरदायी ठान्थे भने जिल्लाभरिबाट आफ्ना पार्टीका सबैले हार्दा पार्टीको साख जोगाउनका लागि भए पनि मैले अब राम्रो गर्नुपर्दछ भन्ने ठानेनन् ।
एउटा व्यक्तिले पाँच/छ करोडसम्म इमेज सहकारीमा जम्मा गरेको कुरा मिडियामा बताइरहेका छन् । कैयौँले बच्चाको टीकाटालामा प्राप्त भएको एक एक पैसा बचाएर जम्मा गरेको बताएका छन् । कतिले भएभरको पैसा इमेजमा जम्मा गरेको अहिले बिरामी अस्पताल लैजाने पैसा छैन भनेका छन् । यी सबैका दर्दनाक पीडा सुन्दा हामी सबैको पनि मन अमिलो भएको छ । के कुनै पनि शासनसत्ता भएको देशमा सरकार यसरी नै रमिते बनिरहन्छ ?
२०७५ सालमा ओरेन्टेल कोअपरेटिभ सहकारीका सुधीर बस्नेतले सहकारीका बचतकर्ता र हाउजिङ तथा अपार्टमेन्ट बुकिङकर्ता सात हजार ५४६ जनासहितको १६ अर्ब एक करोड रकम हिनामिना गरेको ठहर भएको छ ।
त्यस्तै, २०७७ सालमा सिभिल ऋण तथा बचत सहकारी लिका इच्छाराज तामाङले ३२ सय बचतकर्ताबाट सात खर्ब ३२ करोड रुपियाँ हिनामिना भएको ठहर गरेको छ ।
त्यस्तै, विगतमा एकताका गोल्ड क्वेस्ट र पछि युनिटी लाइफ जस्ताले पनि जनताको अर्बौं हिनामिना गरेका थिए ।
यसरी विगतमा ठगी गरेकालाई सशक्त कारबाही गरेर यस्ता संस्थालाई राज्यले नियमन गरेका भए पटक पटक जनताको अर्बौं रकम ठगिएर हिनामिना हुने थिएन र हालका इमेज, शिवशिखर जस्ता दर्जनौँ सहकारीले पुन: ठगी गर्ने हिम्मत गर्ने थिएनन् ।
सहकारी भनेको सामान्य अर्थमा सहकार्य वा सँगसँगै गरिने काम हो । यो ठुलो बैङ्क जस्तो बचतकर्ता संस्था होइन, एउटा निश्चित भौगोलिक बसोबास गर्ने वा समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसको आपसी हितका निम्ति आर्थिक कारोबार गर्न तयार रहेका निश्चित सेयर सदस्यको संस्था सहकारी हो । यसमा लाखौँकरोडौँ रकम जम्मा गर्नुहुँदैन भन्ने कुराको जागरण जनतामा भएको भए १८ प्रतिशत ब्याज दिन्छु भन्ने प्रलोभनमा जनता फस्ने थिएनन् । विगतमा केही ठुला सहकारीको अर्बौंको हिनामिना भएका समाचार बजारमा फैलिरहेको अवस्थामा लाखौँ रकम सहकारीमा जम्मा गर्नुहुँदैन भन्ने चेतना आफैमा पनि हुनुपर्ने हुन्छ । नबुझेकालाई बुझेकाले बुझाउनुपर्ने हुन्छ । यसरी सामाजिक चेतना फैलाउनु हामी सबैको पनि सामाजिक दायित्व हुन आउँछ ।
१४ अर्ब रुपियाँभन्दा बढी रकम हिनामिना गरेको भनी उजुरी परेका शिखशिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदार शर्मालाई केही दिनअगाडि प्रहरीको केन्द्रीय अनुसन्धान (सिआइबी) को टोलीले भारतको मुम्बईमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको छ । यदि मिलिमतोमा राज्यको संरक्षणमा देवकुमार नेपाली रहेका छैनन् भने उनी आजसम्म किन पक्रिँदैनन् भन्ने जनचासो व्यापक भएको छ । राज्यले उनलाई तुरुन्त गिरफ्तार गर्नुपर्छ भन्ने जनताको माग छ ।
सहकारीपीडित केन्द्रीय सङ्घर्ष समितिको पहलमा त्यसका सदस्यहरू महिनादिन अगाडिबाट काठमाडौँको माइतीघर मण्डलामा धर्ना बसिरहेका छन् । सहकारीपीडितको माग जायज छ । उनीहरूको मागलाई राज्यले सम्बोधन गर्नुपर्छ । सहकारी सञ्चालकको सम्पत्ति छानबिन गरी सहकारीको बचत रकमबाट आफन्तको नाममा जोडेको सम्पत्तिलाई पनि राज्यले नियन्त्रणमा लिई जफत् गर्नुपर्छ र सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्नुपर्छ ।