हाम्रो पार्टीले नेपाली काङ्ग्रेससित कार्यगत एकता वा सहकार्य गरेको तथा वर्तमान सरकारलाई समर्थन गरेको विषयमा कतिपय पक्षबाट आलोचना र टीकाटिप्पणी हुने गरेको छ तर हामीले के स्पष्ट गर्न चाहान्छौँ भने हाम्रो त्यस प्रकारको नीति संयुक्तमोर्चाको माक्र्सवादी–लेनिनवादी सिद्धान्त र अहिलेको देशको ठोस राजनीतिक परिस्थिति र आवश्यकताअनुरूप छ । त्यसैले सही पनि छ ।
अहिले देशमा प्रतिगमनको गम्भीर खतरा छ । त्यसको अर्थ हो : जनताले लामो सङ्घर्ष तथा त्याग र बलिदान गरेर ल्याएका ऐतिहासिक उपलब्धिहरू मुख्यत: गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै गम्भीर खतरा छ । त्यो अवश्थामा प्रतिगमनका विरुद्ध उभिने र गणतन्त्र र धर्मनिरपेक्षताका पक्षमा भएका राजनीतिक शक्तिहरूसित एकता गर्नु सही हुन्छ र त्यस प्रकारको एकताबिना हामीले प्रतिगमनलाई पराजित गर्न नसक्ने कुरा प्रष्ट छ । यदि देशमा प्रतिगमनको विजय भयो भने देश पुन: राजतन्त्र वा निरङ्कुश शासनतिर जाने छ र त्यसबाट देशलाई ठुलो क्षति पुग्ने छ ।
माओवादी वा नेकासित हाम्रा कैयौँ गम्भीर प्रकारका मतभेद छन्† उदाहरणका लागि एमसिसी, नागरिकता विधयेक । तीसमेत अन्य कैयौँ प्रश्नमा उनीहरूसित मतभेद भएका विषयमा उनीहरूको विरोध गर्ने वा आवश्यकताअनुसार उनीहरूका विरुद्ध सङ्घर्ष गर्ने नीति पनि हाम्रो छ तर त्यस प्रकारको विरोध वा सङ्घर्षलाई कायम राख्दै प्रतिगमनका विरुद्धको सङ्घर्षमा उनीहरूसित एकता गर्ने हाम्रो नीति पनि रहेको छ । त्यही माक्र्सवादी–लेनिनवादी द्वन्द्वात्मक सिद्धान्त हो र त्यही सिद्धान्तमाथि हाम्रो संयुक्तमोर्चाको नीति पनि आधारित छ । त्यो सिद्धान्तले देशको कुनै विशिष्ट अवस्थामा गम्भीर प्रकारका राजनीतिक मतभेद भएका वा दुस्मनशक्तिसित पनि एकता गर्ने नीतिमा जोड दिन्छ ।
जुन शक्ति वा तत्त्वहरू प्रतिगमन वा राजतन्त्रको पुनस्र्थापनाको पक्षमा छन्, उनीहरूले अहिलेको हाम्रो माओवादी वा नेकासित सहकार्य गर्ने वा उनीहरूको सरकारलाई समर्थन गर्ने नीतिको विरोध गर्दछन् । त्यसो गर्नुका पछाडि उनीहरूको कुन प्रकारको नियत छ ? त्यो कुरा प्रष्टै छ तर कतिपय इमान्दार र वामपन्थी पक्षहरूले पनि एकातिर, संयुक्तमोर्चाको द्वन्द्वात्मक प्रकृतिलाई बुझ्न नसकेर तथा अर्कातिर, भ्रमवश पनि अहिलेको हाम्रो नीतिको विरोध गरेको सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।
कतिपय वामपन्थी शक्तिहरूले तत्काल नयाँ जनवादी वा समाजवादी गणतन्त्र जस्ता रणनीतिक विषयलाई तात्कालिक कार्यदिशा
बनाएकाले पनि अहिले देशमा विद्यमान गणतन्त्रको औचित्यतालाई बुझ्न सकिरहेका छैनन् । त्यस प्रकारको गलत समझदारीका कारणले पनि कतिपय वामपन्थी पक्षले हामीले विद्यमान गणतन्त्रलाई समर्थन गरेको कुरालाई नै गलत बताउँछन् । त्यसको परिणामस्वरूप अहिलेको देशको ठोस परिस्थितिअनुसार आवश्यक र उचित भएको हाम्रो कार्यनीति वा प्रतिगमनका विरुद्ध कायम भएको गठबन्धनलाई पनि गलत बताउन पुग्दछन् ।
(महामन्त्री सिंहको फेसबुक वालबाट)