काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले साहु र ऋणीबिच ब्याजमा आर्थिक लेनदेनको कारोबार भएपछि स्थानीय तहबाट प्रमाणीकरण गर्ने कानुनी व्यवस्थाको प्रस्ताव गरिएको बताउनुभएको छ ।
राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा प्राप्त ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले त्यस्तो व्यवस्था गर्दा वास्तविक ऋण लिनेहरू नठगिने र नक्कली पीडित हुने समस्या नहुने स्पष्ट गर्नुभयो ।
विधेयकमा ऋण लेनदेन भएका छ महिनाभित्र दुवै पक्ष ९साहु र ऋणी० स्थानीय तहमा गएर प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । यस्तो प्रबन्धले लिने र दिने दुवै त्रसित हुन नपर्ने उल्लेख गर्दै मन्त्री गुरुङले सही नियतले गरिने अैँचोपैचो रोक्ने विधेयकको मनशाय नभएको स्पष्ट पार्नुभयो ।
सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । सो विधेयकमाछि संशोधन पेस गर्न सांसदहरूलाई आग्रह गरिएको छ ।
सामन्तवादका अवशेष अन्त्यका लागि नै सो विधेयक ल्याएको स्पष्ट गर्दै उहाँले राज्यका औपचारिक वित्तीय संस्था आम जनताका बिचमा बढीभन्दा बढी पहुँचमा लगिँदै आएको बताउनुभयो ।
मिटरब्याजको समस्यामा राजनीतिक र प्रहरी क्षेत्रका उच्च तहका व्यक्ति संलग्न भए पनि कानुन बनेपछि पीडक र पीडित छुट्याएर पीडिकलाई कारबाही गरिने उहाँले बताउनुभयो ।
मन्त्री गुरुङले उक्त विधेयक समयमा सदनमा ल्याउन नसकेकामा नेपाल सरकारका तर्फबाट माफी माग्दै राष्ट्रियसभाबाट पारित भएपछि यही असार ६ गते विधेयक सांसदको पिजन हलमा उपलब्ध गराइएको स्पष्ट गर्नुभयो ।
विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरू दिलेन्द्रप्रसाद बडु, पदम गिरी, सुमना श्रेष्ठ, माधव सापकोटा, रामकृष्ण यादव, राजकिशोर यादव, सुशीला श्रेष्ठ, मुक्ताकुमारी यादव, रामहरि खतिवडा, राजेन्द्रकुमार केसी, प्रेम सुवाललगायतले भाग लिनुभएको थियो ।