काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले नेकपा (माले) का महासचिव सीपी मैनालीको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । मैनाली सवारी दुर्घटनामा परेको खबरले आफूलाई दुःख लागेको महामन्त्री सिंहले बिहीबार साँझ प्रकाशित वक्तव्यमा उल्लेख गर्नुभएको छ ।
उहाँले दुर्घटनाबारे छानबिन गर्नसमेत माग गर्नुभएको छ । सिंहले भन्नुभएको छ, ‘नेकपा (माले) का महासचिव का सीपी मैनाली परिवार सहित दुर्घटनामा परेको समाचार थाहा पाएर हामीलाई धेरै दुःख लागेको छ । हामीले उहाँ र उहाँका परिवारका सदस्यहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । त्यसका साथै उक्त दुर्घटनाको छानवीन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिन्छौँ ।’
यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि वक्तव्य प्रकाशित गरी घाइते महासचिव मैनालीसहित परिवारको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । विगत लामो समयदेखि विभिन्न राष्ट्रिय मुद्दामा सहकार्य गर्दै आएका नेकपा (मसाल) र नेकपा(माले) पछिल्लो समय एमसीसी र सीमा अतिक्रमण विरुद्ध १० दलीय मोर्चामार्फत लगातार संयुक्त संघर्ष गरिरहेका छन् ।
मैनाली खतरामुक्त
यता, बिहीबार साँझ प्राप्त समाचार अनुसार महासचिव सिपी मैनालीको अवस्था खतरामुक्त रहेको छ । काठमाडौँको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत मैनाली खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।
मैनालीको दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको र शरीरमा भित्री चोट नभएको चिकित्सकलाई उदृत गर्दै आफन्तले जनाएका छन् ।
भाइको छोरीको विवाहमा गएर झापाबाट काठमाडौँ फर्कदै गर्दा महासचिव मैनाली विपी राजमार्गको सिन्धुली क्षेत्रमा दुर्घटनामा पर्नुभएको थियो । उहाँ सवार बा७च २१२० नम्बरको जिपलाई विपरीत दिशाबाट गइरहेको ना४च ७६८० नम्बरको भ्यानले ठक्कर दिएको थियो । दुर्घटनामा मैनालीका छोरा ३० वर्षीय सरोज, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका थिए ।
दुर्घटनालगत्तै घाइतेको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार गरिएको थियो । थप उपचारका लागि घाइतेहरुलाई ग्राण्डी अस्पतालमा ल्याइएको हो ।