दैलेख बजार । यहाँका करिब ७३ हजार पशुमा लम्पिस्किन रोगको सङ्क्रमण देखिएको छ । सो रोगका कारण हालसम्म करिब चार सय ३५ पशु मरिसकेका छन् ।
पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख भीमबहादुर विष्टका अनुसार हालसम्म दैलेखका ११ स्थानीय तहका ९० वडामा करिब ७३ हजार पशुमा लम्पिस्किन देखा परेको बताउनुभयो ।
उक्त रोग महामारीका रूपमा फैलिन थालेपछि सम्बन्धित निकायले चासो दिएका छन् । निमित्त कार्यालय प्रमुख विष्टले सो रोग नियन्त्रणका लागि काम भइरहेको बताउनुभयो ।
‘पशुमा लम्पिस्किन फैलिएपछि कार्यालयले औषधी खरिद गरी स्थानीय तहमा पठाएको छ । सचेतनाका कार्यक्रम सञ्चालन गरेका छौँ । स्थानीय तह टोलटोलमा पशु प्राविधिक खटाएर रोग नियन्त्रणतर्फ लागेका छन्’ विष्टले भन्नुभयो ।
लम्पिस्किन लागेमा पशुलाई ज्वरो आउने, झोक्राउने, खाना नखाने, दुध घटेर जाने, खटिरा आउने र अन्त्यमा मृत्यु हुने गरेको र किर्ना, भुसाना, झिँगा, लामखुट्टे आदिका माध्यमबाट एउटा पशुबाट अर्कोमा सर्ने हुँदा फैलनेक्रम बढ्दो छ ।