खाँदबारी । सङ्खुवासभामा बाढीपहिरोमा परी बेपत्ता भएकाको खोजीकार्यका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।
असार २ गते राति अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण बेपत्ता भएका २० जना एक सातासम्म पनि फेला नपरेपछि तालिमप्राप्त कुकुरहरू मोति र पिक्कुद्वारा खोजी गर्न थालिएको हो ।
नेपाल प्रहरीले धरानबाट ल्याइएको तालिम प्राप्त दुईओटा कुकुरको सहायतामा २०८० असार ९ गते शनिबार बिहान सभाखोलादेखि खोजी थालिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । नेपाल प्रहरीको तालिमप्राप्त कुकुरले हेवाखोला र सभाखोलाकिनारमा बेपत्ताको खोजी गरिरहेको उहाँले बताउनुभयो ।
मोति र पिक्कुसँगै प्रहरी, सेना र सशस्त्र प्रहरी गरी झन्डै एक सुरक्षाकर्मी परिचालन गरिएको छ । खोलाकिनारमा ६० फिटभन्दा बढी बालुवा थुप्रिएका कारण उद्धार टोलीलाई बालुवा हटाउन समस्या भएको छ ।
बाढीपहिरोमा बेपत्ता भएकाको सुरक्षाकर्मीको टोलीले एक सातादेखि खोजी जारी राखे पनि उनीहरूको अवस्था पत्ता नलागेपछि तालिमप्राप्त कुकुर ल्याएर खोजीलाई तीव्रता दिइएको प्रजिअ कार्कीले बताउनुभयो । उहाँका अनुसार कुकुरको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले शनिबार र आइतबार हेवाखोला र सभाखोला किनार आसपास खोजी गर्ने छन् ।
बेपत्ताको खोजीका लागि हेवाखोला र सभाखोलाको बगरमा अन्य सुरक्षाकर्मी पनि परिचालित छन् ।
बाढीपहिराका कारण जिल्लाका विभिन्न स्थानका २१ घरपरिवार विस्थापित भएका छन् । विस्थापित भएका २१ घर परिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् । बाढीपहिरोमा परी बेपत्ता भएका २० जनामध्ये सुपर हेवाखोला जलबिद्युत्का १६ जना, अपर हेवाखोला जलविद्युत् आयोजनाका एक, अमर कन्ट्रक्सनका एक र सभाखोपरी गाउँपालिकाका दुई जना छन् ।
बाढीपहिराका कारण जिल्लाका आठ जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने बाढीले भौतिक संरचना बगाउँदा करोडौँको क्षति भएको छ । (रासस)