प्रकाश थापामगर ##
विषय प्रवेश
कम्युनिस्ट पार्टीमा नयाँ पिँढीको प्रवेश अत्यन्त कम भएर गएको छ । यस्तो किन भयो ? यो स्थितिमा कसरी सुधार ल्याउन सकिन्छ ? यसबारेमा विचारविमर्श नभएको होइन । त्यहाँ भएको छलफलको आधारमा साझा निष्कर्ष निकालिएको छ : नयाँ पिँढीलाई राजनीतिमा ल्याउनैपर्छ । यो साझा र सामान्य निष्कर्षका साथ नयाँ पिँढीलाई राजनीतिकरण गर्न कैयौँ योजना बनाएको छ तर विडम्बना ! ती योजना र कार्यक्रम सफल हुन सकेका छैनन् ।
दर्शन, विचार र सिद्धान्तको विषयलाई एक छिनका लागि थाती राख्ने हो भने नयाँ पिँढीका लागि अप्ठ्यारो विषय कम्युनिस्ट पार्टीभित्रको सङ्गठनात्मक प्रणाली हो अर्थात् जनवादी केन्द्रीयताको पालना नै नयाँ पिँढीका लागि समस्या हो भन्ने देखिन्छ ।
स्पष्टीकरण
यहाँ हामीले जुन ‘नयाँ पिँढी’ शब्दावली प्रयोग गरेका छौँ, त्यो सम्पूर्ण नयाँ पिँढीका लागि होइन । सम्पूर्ण नयाँ पिँढी साम्राज्यवादी दृष्टिकोणबाट शिक्षित, दिक्षित र परिचालित भएको छ भन्ने होइन । यदि त्यस्तो हुँदो हो त विश्वबाटै कम्युनिस्ट क्रान्तिकारी समाप्त भइसकेका हुन्थे ।
पक्कै पनि नयाँ पिँढीको एउटा तप्का आमूल परिवर्तनकारी राजनीतिको पक्षमा छ तर समस्या यो हो : आवश्यकताको जुन अनुपातमा आमूल परिवर्तनकारी राजनीतिको पक्षमा नयाँ पिँढी सामेल हुनुपर्दथ्यो, त्यस्तो भइरहेको छैन । त्यसका पछाडि साम्राज्यवादी भूमिकाले काम गरेको छ भन्ने बुझ्दाबुझ्दै पनि त्यसलाई रोक्न कम्युनिस्ट पार्टी सफल भइरहेको छैन ।
इतिहास साक्षी छ : समाज विकासको क्रममा अन्तत: सत्य र न्यायको विजय हुन्छ । अहिलेसम्म नयाँ पिँढीमा साम्राज्यवादको जुन घुसपैठ भइरहेको छ, यस सन्दर्भमा पनि अन्तिम जित सत्य र न्यायको हुनु अवश्यम्भावी छ ।
जनवादी केन्द्रीयता
सर्वप्रथम त कम्युनिस्ट पार्टीले सङ्गठनात्मक अनुशासन सिद्धान्तको रूपमा अपनाउने जनवादी केन्द्रीयता के हो ? त्यसबारेमा जानकारी राख्नु उचित हुने छ ।
जनवादी केन्द्रीयताका सामान्य नियम यस प्रकार छन् :
क) व्यक्ति सङ्गठनको मातहतमा
ख) तल्ला समिति उपल्ला समितिको मातहतमा
ग) सम्पूर्ण समिति केन्द्रीय समितिको मातहतमा
घ) केन्द्रीय समिति राष्ट्रिय सम्मेलन वा महाधिवेशनको मातहतमा
यसका अतिरिक्त लेनिनवादी सङ्गठनात्मक अनुशासनका अन्य दुई नियम पनि छन् :
क) सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी
ख) छलफलमा स्वतन्त्रता, कामकारबाहीमा एकता
जनवादी केन्द्रीयताको सार हो : निर्णय गर्नुपूर्व सम्बन्धित समितिमा गहन छलफल गर्नु तर निर्णय भइसकेपछि निर्णयप्रक्रियाको छलफल वा त्यहाँ व्यक्त मतलाई थाती राखेर निर्णय कार्यान्वयन गर्नु । कार्यान्वयनमा जाँदा उक्त निर्णय गलत भए सच्याउन सकिन्छ । कमजोरी देखा परेमा अर्को बैठकमा त्यसबारे निर्णय लिन सकिन्छ ।
जनवादी केन्द्रीयतासम्बन्धी उपर्युक्त अवधारणाबारे नयाँ पिँढीको व्यापक तप्का अनभिज्ञ छ । त्यसबाहेक जुन सानो तप्काले जनवादी केन्द्रीयताबारे सामान्य जानकारी राख्दछ, त्यसले पनि यसबारे गम्भीर दृष्टिकोण अपनाउँदैन । फलस्वरूप नयाँ पिँढीले जनवादी केन्द्रीयताबारे विकृत धारणा कायम गर्न पुग्दछ । यहाँसम्म कि नयाँ पिँढीको एउटा पक्षले त जनवादी केन्द्रीयतालाई तानाशाही विधिविधानको रूपमा असन्तुष्टि पोख्दछ ।
आखिर यस्तो किन भइरहेको छ ? त्यसको पछाडिका कारण र परिस्थिति के कस्ता छन् ?
दर्शन, विचार र सिद्धान्तप्रतिको उपेक्षा
नयाँ पिँढी दर्शन, विचार र सिद्धान्तप्रति उपेक्षाभाव राख्दछ भन्ने आम रूपमा थाहा भएको विषय हो । उनीहरू पुराना दर्शन, विचार र सिद्धान्तको अध्ययनप्रति अरुचि राख्दछन् । उनीहरू यतिखेरको समाज कुन दर्शन, विचार र सिद्धान्तअन्तर्गत सञ्चालन भइरहेको छ ? त्यसबारे अनभिज्ञ छन् । अहिलेसम्मका प्रभावशाली दर्शन, विचार र सिद्धान्तको अध्ययनप्रति उपेक्षाका कारण नयाँ पिँढी आफै उत्तर आधुनिकतावादी दर्शन, विचार र सिद्धान्तको पक्षमा उपभोग भइरहेको छ तर उनीहरू यसबारे पनि अनभिज्ञ छन् ।
दर्शन, विचार र सिद्धान्तको अध्ययन नगर्नुको कारण उनीहरू सही के हो ? गलत के हो ? त्यसबारे सही समझदारी कायम गर्न सक्दैनन् । यो परिस्थितिमा उनीहरूले कुनै दर्शन, विचार र सिद्धान्तको आधारमा होइन, क्षणिक भावनाको आधारमा निर्णय लिन्छन् ।
उनीहरू भविष्य हेर्दैनन् तर तात्कालिक परिस्थति मात्रै हेर्दछन् । फलस्वरूप छिट्टै गलत बाटो समात्न पुग्दछन् । वास्तवमा दर्शन, विचार र सिद्धान्तप्रति उपेक्षाका कारण लगत दिशा समाते पनि उनीहरूलाई आफूले गलत दिशा समातेको महसुस हुन्न । त्यसको परिणाम यो हुन्छ : उनीहरू एकपछि अर्को गल्ती गर्दै जान्छन् ।
इतिहास अध्ययनको अभाव
नयाँ पिँढीले इतिहासको अध्ययन गर्दैन । उनीहरू विश्वको त के, आफ्नै देशको इतिहासको समेत अध्ययन गर्दैनन् ।
इतिहासको बारेमा केही समझदारी यस्ता छन् :
क) इतिहास आफैमा महान् शिक्षक हो ।
ख) इतिहासले आफै सिकाउँदैन बरु कठोर दण्ड दिन्छ ।
वास्तवमा जसले इतिहास जान्दैन, उसले वर्तमान पनि जान्दैन किनकि वर्तमान इतिहासकै निरन्तरता हो । वर्तमानलाई इतिहासबाट अलग गर्न सकिँदैन । इतिहासलाई आपूmबाट अलग गर्दासाथ वर्तमानसमेत आधारहीन बन्न पुग्दछ ।
नयाँ पिँढी इतिहासप्रतिको यस्तो समझदारीबाट बेखबर छ । उसले इतिहासलाई ‘पुराना कुरा’ वा ‘गएगुज्रेका कुरा’ भनेर बेवास्ता गर्दछ । त्यति मात्र होइन, नयाँ पिँढीले इतिहासलाई ‘रूढी’ सँग जोड्न पुग्दछ । फलस्वरूप नयाँ पिँढी खालि ‘वर्तमान’ सँग मात्र सम्बन्धित हुन्छ ।
नयाँ पिँढी इतिहासप्रति उदासिन हुँदा के हुन्छ ? त्यसको दुष्परिणाम के हुन्छ ? त्यसको पछिल्लो उदाहरण फिलिपिन्समा देख्न सकिन्छ भने भविष्यमा त्यसको प्रहसन हाम्रै देशमा नहोला भन्न सकिन्न ।
फिलिपिन्समा नयाँ पिँढीले इतिहास बिर्संदा त्यहाँको तानाशाही मार्कोस शासन व्यवस्थालाई स्वर्णीम मानियो । उनीहरूको यस्तो दृष्टिकोणले गर्दा त्यहाँ पुन: तानाशाही सोच बोकेका युवा मार्कोस जुनियर राज्यशक्तिमा पुग्न सफल भए । त्यस्तै खालको प्रहसन नेपालमा नहोला भन्न सकिन्न ।
नेपालमा पनि नयाँ पिँढीमा इतिहासप्रति उदासिनता छ । निरङ्कुश राजतन्त्र र जहानियाँ राणाशासनको वास्तविकता २०६२ सालपछि जन्मेको पिँढी—जो यतिखेर किसोरावस्थामा छ—ले जान्ने कुरै भएन । आगामी समयमा इतिहास अध्ययन गरिएन भने नेपालमा कुन परिस्थितिमा गणतन्त्र र धर्मनिरपेक्षताको स्थापना भयो भन्ने तथ्य उनीहरूले जान्ने छैनन् । त्यति मात्रै होइन, २०४६ सालको जनआन्दोलनमा भाग लिएको पुस्ताले समेत राजतन्त्र र निरङ्कुशता बिर्सन थालेको जस्तो देखिन थालेको छ । कल्पना गरौँ : २०४६ सालको जनआन्दोलनमा सहभागी भएको र त्यसपछि जन्मेको पुस्ता इतिहासप्रति उदासिन भयो भने नेपालमा फिलिपिन्सको इतिहास नदोहोरिएला ? जसरी अहिले हाम्रो देशको युवा पिँढी राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा इतिहास बिर्सेर भावुक बनिरहेको छ, त्यसले सुखद सन्देश दिँदैन ।
अधिकारको खोजी तर कर्तव्यप्रति उदासिन
स्वभावैले नयाँ पिँढी अधिकारप्रति बढी आकर्षित हुन्छ तर अधिकारप्रतिको यस्तो एकोहोरो लगाव, जहाँ कर्तव्यको पाटो पृष्ठभूमिमा पर्दछ, त्यसलाई स्वाभाविक मान्न सकिन्न । पश्चिमा देशमा अधिकारप्रतिको एकोहोरो लगाव व्यापक रूपमा देखा पर्ने गरेको छ । त्यहाँ कतिपय सन्तानले राम्ररी भरणपोषण गर्न नसक्ने भए किन जन्माएको भनेर आमाबाबु विरुद्ध अदालतमा मुद्दा दर्ता गरेको समाचार पढ्न सकिन्छ । पश्चिममा यो प्रवृत्ति क्रमश: बढ्दै गइरहेको छ ।
नयाँ पिँढीमा कर्तव्यबोधको भावना कमजोर बन्दै जानुका पछाडि वस्तुगत कारण पनि छन्; जस्तो : मुद्रास्फीतिका कारण एकल परिवारमा बस्नुपर्ने बाध्यता । त्यस्तै, युरोपका कतिपय देशमा बिमा व्यवस्था प्रभावकारी हुँदा सन्तानले अभिभावकको जिम्मेवारी लिनुनपर्ने अवस्था पनि छ तर पश्चिममा मुख्यत: पहिलो कारणले नयाँ पिँढीमा अभिभावकप्रतिको कर्तव्यबोधको भावना कमजोर बन्दै गएको छ । फलस्वरूप वृद्धाश्रमको सङ्ख्या बढ्दै गइरहेको छ ।
त्यसैगरी उनीहरूमा मातृभूमिप्रतिको कर्तव्य पनि पृष्ठभूमिमा पर्न थालेको छ । जसरी इतिहासमा आफ्नो देशका लागि जिउज्यानको बलिदानी दिने गरिन्थ्यो, अब त्यो परिघटना इतिहासमा सीमित हुने त होइन भन्ने आशङ्का उत्पन्न हुन थालेको छ ।
समाजको होइन, प्रविधिको अध्ययनमा जोड
पछिल्लो समयमा सूचना प्रविधिको उच्च विकास भएको छ । त्यसका साथै जीविकोपार्जनका लागि पनि प्रविधिको क्षेत्रमै सम्भावना खोज्न थालिएको छ । त्यसको परिणाम भएको छ : नयाँ पिँढी प्राविधिक काममै व्यस्त हुन थालेका छन् । आखिर चिकित्सक, इन्जिनियर प्राविधिक नै हुन् । त्यसको तुलनामा दर्शन, विचार, सिद्धान्त, इतिहास, समाज, कानुन, अर्थशास्त्र, मानवशास्त्र, मनोविज्ञान, भूगोल जस्ता क्षेत्रको अध्ययन गर्नेहरूको सङ्ख्या घट्दै गइरहेको छ ।
पछिल्लो पिँढी गणित र विज्ञानको सूत्रमा अल्झिएको छ । यिनै क्षेत्रमा तुलनात्मक रूपमा रोजगारीको अवसर पनि उपलब्ध हुने भएकाले त्यसो हुनु अन्यथा होइन । फेरि पनि मेडिकल, इन्जिनियरिङ जस्ता क्षेत्रमा अध्ययन गर्नेले पनि दर्शन, विचार, सिद्धान्त, इतिहास, समाजशास्त्र, भूगोल, मानवशास्त्र जस्ता क्षेत्रको अध्ययन गरेन भने उसको मानवीय व्यक्तित्व निर्माण हुन सक्दैन । यस्तो अवस्थामा मेडिकल, इन्जिनियरिङ जस्ता क्षेत्रमा जीवन निर्वाह गर्नेहरू मसिनभन्दा बढी हुने छैनन् । नयाँ पिँढी सम्पूर्ण मानव बन्ने वा मसिन ? अहिलेको ज्वलन्त प्रश्न यही हो ।
सामाजिक सञ्जालको लत
नयाँ पिँढीमा सामाजिक सञ्जालको लत नै बसेको छ । यद्यपि त्यसका पछाडि पारिवारिक परिस्थिति जिम्मेवार छ । बालबालिका अरू बच्चासित खेल्नुको सट्टा इन्टरनेट जोडिएको मोबाइलसित भुल्नु एउटा पक्ष हो । जब ऊ किसोर हुँदै जान्छ, तब सामाजिक सञ्जालको दुव्र्यसनी जस्तै बन्न पुग्दछ । उसले सूचना, मनोरञ्जन, सामाजिक सम्पर्क सबैको विकल्प सामाजिक सञ्जाललाई ठान्न पुग्दछ ।
सामाजिक सञ्जालले दु्रत गतिमा सूचना र मनोरञ्जन उपलब्ध गराउँछन् । त्यसका साथै त्यसमा एउटा समस्या छ : सामाजिक सञ्जालमा आएका सूचना कच्चा वा अपरिष्कृत हुन्छन् । त्यहाँ कुनै पनि सूचना सम्पादनबिना नै राखिन्छ । त्यसको सत्यता परीक्षण भएको हुन्न । यसकारण सामाजिक सञ्जालका उपभोक्ताहरू गलत सूचनामार्फत् दिग्भ्रमित हुने सम्भावना रहन्छ ।
अत्यधिक सामाजिक सञ्जालको प्रयोगले शारीरिक समस्या उत्पन्न हुनु एउटा विषय हो, त्यसका साथै त्योभन्दा गम्भीर समस्या उनीहरूमा देखा पर्ने मानसिक समस्या हो† जस्तै : सामाजिक सञ्जालमा स्टाटस राख्ने, कमेन्ट गर्नेहरूले आफूलाई विद्वान मान्न थाल्दछ; सूचना राख्नेहरूले आफूलाई पत्रकार वा सम्पादक ठान्न थाल्दछ र बढी लाइक पाउनेहरूले आफूलाई सेलिब्रिटी ठान्न थाल्दछ । सामाजिक सञ्जाल यथार्थ होइन, त्यो प्रायोजित हुन सक्छ; त्यहाँ नक्कली (फेक) सूचना राख्न सकिन्छ भन्ने उनीहरू बुझ्न सक्दैनन् । मानिस विद्वान बन्न अध्ययन–अनुसन्धानमा लाग्नुपर्दछ । त्यसका लागि जनताको माझमा जानुपर्दछ । खालि सामाजिक सञ्जालमा भुलेकै भरमा कोही विज्ञ बन्न सक्दैन भन्ने खालको समझदारी उनीहरूमा रहेको पाइँदैन ।
एकाङ्गी जीवन
नयाँ पिँढीको जीवन एकाङ्गी प्रकारको छ । प्रथमत: वर्तमान समाजको पारिवारिक संरचना एकल प्रकृतिको छ । त्यसमाथि उनीहरू सामाजिक सञ्जालमा व्यस्त रहँदा यस खालको परिस्थिति देखा पर्दछ । यद्यपि बाल्यकालमा बच्चाहरूको एकाङ्गी अवस्थाका लागि स्वयम् उनीहरू जिम्मेवार छैनन् जति सम्बन्धित परिवार र विद्यमान परिस्थिति जिम्मेवार छ ।
नयाँ पिँढीको एकाङ्गी जीवन मुख्यत: उनीहरूको जीविकोपार्जनसित पनि सम्बन्धित छ । जस्तो कि माथि उल्लेख भइसकेको छ, नयाँ पिँढी प्राविधिक विषयको अध्ययनमा संलग्न छ । फलस्वरूप जब उनीहरू जीविकोपार्जनको मैदानमा उत्रिन्छन्, त्यतिखेर उनीहरूले आफूलाई एकल स्थितिमा पाउँछन् । घण्टौँ कुर्सीमा बसेर मानसिक काम गरिरहँदा उनीहरूमा त्यही खालको मनोविज्ञान र कार्यशैली कायम हुन्छ । उनीहरू जनसम्पर्कमा पुग्दैनन् । आम जनताको सकारात्मक र नकारात्मक प्रतिक्रियाको सामना गर्न पाउँदैनन् । यी सबैको परिणाम हुन्छ : उनीहरू जीवन, जगत् र समाजको वास्तविकताबाट टाढा हुन्छन् । उनीहरू आम्दानी आकर्षक गर्न सक्लान् तर उनीहरूको सामाजिक वा बहुआयायिक व्यक्तित्व निर्माण हुन सक्दैन । उनीहरूमा ‘दु:ख ब्यहोरेर सुखको महत्त्व बुझ्ने’ अवस्था रहँदैन । त्यसकारण उनीहरूले मानिस भएर पनि यन्त्र वा मसिनको झैँ जीवन बाँचिरहेका हुन्छन् ।
बोर्डिङ स्कुलको शिक्षा
२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालमा शिक्षाको निजीकरण भयो । त्यही निजीकरणअन्तर्गत बोर्डिङ स्कुल खुले । फलस्वरूप सरकारी वा सामुदायिक स्कुल कमजोर हुँदै मर्ज वा बन्द हुने अवस्थामा पुगे । अहिले हामी जसलाई नयाँ पिँढी भनिरहेका छौँ, उनीहरूमध्ये ठुलो हिस्सा त्यही बोर्डिङ स्कुलमा अध्ययन गरेर तयार भएको छ ।
बोर्डिङ र मन्टेस्वरी भनेर निजी स्कुलको सूक्ष्म वर्गीकरण गरिएको पनि पाइन्छ तर व्यवहारमा भने त्यस खालको भिन्नता पाउन गार्हो छ । मन्टेस्वरीमा बलप्रयोग नगरेर सिकाइने भनिए पनि बोर्डिङ र मन्टेस्वरीको सिकाइमा मौलिक फरक छ भनेर अभिभावक विश्वस्त हुने आधार छैन । बोर्डिङमा एकातिर बलप्रयाग गरिने, अर्कातिर पढाइको एकोहोरो बोझ लादिने, त्यसका विपरीत उनीहरूलाई सृजनात्मक र समुदायसित सम्पर्कमा रहेर सिकाउने पद्धति छैन ।
अर्कोतर्फ बोर्डिङ स्कुलमा जुन अध्यापन गराइन्छ, त्यहाँ पनि प्राविधिक विषयमा बढी जोड दिइन्छ । बोर्डिङ स्कुलका बच्चाहरू समुदायसित अन्तरक्रिया गर्न पाउँदैनन् । त्यहाँ विद्यार्थी सङ्गठन खोल्न प्रतिबन्ध लगाइएको हुन्छ । त्यसका अतिरिक्त लोकसेवा आयोगका दरबन्दी पूर्ति गर्दा निजी स्कुलमा पढेकालाई भेदभाव गर्दा पनि बोर्डिङ स्कुलले प्राविधिक विषयमा जोड दिएका हुन्छन् ।
यी सबैको परिणाम हुन्छ : बोर्डिङ स्कुलमा अध्ययनरत नयाँ पिँढी सामाजिकीकरणको प्रक्रियाबाट टाढै रहन्छन् । फलस्वरूप उनीहरू एकाङ्गी जीवनशैलीका साथ यन्त्रमानव जस्तो बन्न पुग्दछन् ।
यता, सामुदायिक स्कुलमा पढ्नेहरू भने तुलनात्मक रूपमा सामाजिक छन् । यसरी नयाँ पिँढीलाई एकाङ्गी वा विशुद्ध प्राविधिक प्रकृतिको बनाउनमा बोर्डिङ स्कुलको पनि हात रहेको मान्नुपर्ने हुन्छ ।
अकाल, भोकमरी, युद्धको सामना गर्नुनपर्दा
वास्तवमा भन्ने हो भने नयाँ पिँढीले लामो समयदेखि प्रतिकूल परिस्थितिको सामना गर्नुपरेको छैन । पहिले जसरी मानिसहरूले अकाल र भोकमरीको सामना गर्दथे, अहिले त्यो परिस्थिति छैन । खासगरी भूमण्डलीकरणले गर्दा विश्वको जुनसुकै देशबाट अन्न आयात गर्न सकिने भएकाले अकाल र भोकमरी जस्ता प्रतिकूलता मानव समाजले ब्यहोर्नुपरेको छैन ।
त्यस्तै, यदाकदा युद्ध भए पनि पहिलेको जस्तो पटक पटक युद्ध हुने अवस्था न्यूनीकरण भएको छ । अब युद्ध पनि प्रविधिमाथि आधारित हुने भएकाले त्यसको दुष्परिणाम फरक छ । नेपाल जस्तो देश भने विशिष्ट भौगोलिक परिस्थितिका कारण लामो समयदेखि युद्धबाट टाढै छ ।
यसरी युद्ध, अकाल र भोकमरी जस्ता प्रतिकूल परिस्थितिको सामना गर्नुनपरेका कारण नयाँ पिँढीले यस्ता प्रतिकूल परिघटनालाई स्वैरकल्पना मात्रै ठान्न पुग्दछ । त्यसमाथि इतिहास अध्ययन नगर्ने प्रवृत्तिका कारण नयाँ पिँढी भविष्यप्रति सजग छैन । इतिहासको अध्ययन गर्ने भए उनीहरू केही सजग हुन सक्थे । त्यसले गर्दा उनीहरू ‘वर्तमानमा जे देखा परिरहेको छ, त्यही सत्य हो’ भन्ने मानसिकतामा छन् ।
आमूल परिवर्तनको राजनीतिप्रति वितृष्णा
हामीले यहाँ सङ्क्षिप्तमा नयाँ पिँढीसित सम्बन्धित केही तथ्य प्रस्तुत गर्यौँ । यसबाट हामी सहजै बुझ्न सक्दछौँ : नयाँ पिँढीमा किन राजनीति र सङ्गठनात्मक अनुशासनप्रति वितृष्णा आइरहेको छ ?
यहाँ जुन राजनीतिप्रति वितृष्णाको प्रसङ्ग उठाइयो, त्यसको अर्को पाटो पनि छ । नयाँ पिँढीलाई साम्राज्यवादीहरूले आफ्नो पक्षमा उपयोग गरिरहेका छन् । नेपालको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जुन युवाशक्ति देखा परेका छन्, त्यसबाट खासगरी अमेरिकी साम्राज्यवादको हितसाधन भइरहेको छ तर दर्शन, विचार, सिद्धान्त र इतिहासको अध्ययन नगर्ने नयाँ पिँढी भने आफू उपयोग भइरहेको बुझ्न सकिरहेको छैन ।
वर्तमान वर्गविभाजित समाजमा कोही पनि राजनीतिबाट अलग रहनु सम्भव छैन । यही कारण हो, रविन्द्र मिश्र जस्ता नयाँ पिँढीको एउटा प्रतिनिधि मध्ययुगिन राजतन्त्रको पक्ष लिने राष्ट्रिय प्रजातन्त्र पार्टीमा सामेल हुन पुगे । त्यस्तै, नयाँ पिँढीको एउटा तप्का अमेरिका दूतावास, युरोपियन चर्चको परिपत्र र भ्वाइस अफ अमेरिकामार्फत् राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रायोजित गर्दासम्म पनि आँखा खोल्न सकिरहेको छैन । यसरी राजनीतिप्रति वितृष्णा राख्ने भनिए पनि नयाँ पिँढी साम्राज्यवादी राजनीतिको पक्षमा उपयोग भइरहेको छ ।
उनीहरू संलग्न नभएको त वामपन्थी वा क्रान्तिकारी राजनीतिमा मात्रै हो अर्थात् आमूल परिवर्तनकारी राजनीतिमा मात्रै हो । के यस तथ्यमा कुनै शङ्का छ ?
सन्दर्भ अनुशासनको पनि
जसरी नयाँ पिँढीमा आमूल परिवर्तनकारी राजनीतिप्रति वितृष्णा व्यक्त भइरहेको छ, यो सन्दर्भ सङ्गठनात्मक अनुशासनसित झन् बढी सम्बन्धित छ अर्थात् कम्युनिस्ट पार्टीको सङ्गठनात्मक अनुशासन जनवादी केन्द्रीयताप्रति पनि नयाँ पिँढीको उदासिनता व्यक्त भइरहेको छ ।
अनुशासन व्यवस्थित जीवनशैलीको एउटा माध्यम हो । राजनीतिमा मात्रै होइन, व्यक्तिगत र सामाजिक/सार्वजनिक जीवनमा पनि अनुशासनको महत्त्व त्यत्तिकै हुन्छ । अनुशासनबिना व्यक्तिगत जीवन र सुचारु हुन सक्दैन भने राजनीतिक, साङ्गठनिक क्षेत्र त झन् चल्नै सक्दैन । फेरि पनि दर्शन, विचार र सिद्धान्तप्रति उदासिनताको कारणले उनीहरू खासगरी कम्युनिस्ट पार्टीको साङ्गठनिक अनुशासनको विरुद्ध उभिन्छन् । अहिले सामाजिक सञ्जालमार्फत् आफूसम्बद्ध पार्टीको घोषित राजनीतिक लाइन विरुद्ध जथाभावी प्रस्तुत हुनु नयाँ पिँढीको यस्तै उत्तर आधुनिकतावादी, सारमा साम्राज्यवादी प्रभावको अभिव्यक्ति हो । यस्तै दृष्टिकोणका कारण कम्युनिस्ट पार्टीमा अनुशासनको पक्ष कमजोर हुँदै गइरहेको छ । यही प्रकारको अन्तत: साम्राज्यवादी प्रभावका कारण जसले आफूलाई लेनिनवादी पार्टी बताउँछन्, तिनै नेताकार्यकर्ताले समेत जनवादी केन्द्रीयताको विरोध गरेको पाइन्छ ।
सही दर्शन र विचारमा जोड
नयाँ पिँढीलाई सही बाटोमा ल्याउने एउटा तरिका उनीहरूलाई सही दर्शन तथा विचारको पक्षमा उभ्याउनु हो । त्यसका लागि पुरानो पिँढीले उनीहरूलाई मार्गदर्शन गर्नुपर्दछ । त्यस क्रममा विभिन्न आन्दोलन वा सङ्घर्षबाट खारिएर आएको पुरानो पिँढीबाट नयाँ पिँढीले सिक्न सक्दछ ।
पुरानो पिँढीले नेपालमा जहानियाँ राणाशासन र निरङ्कुश राजतन्त्रको अन्त गरेर लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको छ ।
धर्मसापेक्षताको स्थानमा धर्मनिरपेक्षता कायम गरेको छ । शासनप्रणालीमा केन्द्रीयताको स्थानमा विकेन्द्रीयता र सीमित प्रकृतिको भए पनि समावेशिता लागु गरेको छ । हाम्रो देशका लागि यी कम महत्त्वका उपलब्धि हुँदै होइनन् । नयाँ पिँढीले यही गणतन्त्र, धर्मनिरपेक्षता, विकेन्द्रीयता र समावेशितामाथि टेकेर आफू र देशलाई अगाडि बढाउन सक्दछ ।
यदि देश प्रतिगमनतिर गयो भने अर्थात् हिन्दु राष्ट्र, राजतन्त्र वा तानाशाही व्यवस्थातर्फ गयो भने नयाँ पिँढीले त्यसको पुनस्र्थापनाका लागि दसकौँ सङ्घर्ष गर्नुपर्ने हुन सक्छ । त्यसकारण त्यो खतराका विरुद्ध सङ्घर्ष गर्दै मुलुकलाई आमूल परिवर्तनको दिशामा अगाडि बढाउनुपर्ने हुन्छ किनकि वर्तमान गणतन्त्रले पनि जनताका आधारभूत समस्याको समाधान गर्ने छैन । त्यसैले वर्तमान राजनीतिक उपलब्धिबाट पछि फर्किएर होइन अर्थात् गणतन्त्र र धर्मनिरपेक्षतामाथि टेकेर आमूल परिवर्तन पक्षधर राजनीति र सङ्गठनलाई अगाडि बढाउनु नै नयाँ पिँढीसामुको सही विकल्प हो ।
फेरि पनि जनवादी केन्द्रीयता
यदि देशलाई आमूल परिवर्तनको दिशामा अगाडि बढाउने हो भने सोहीअनुसारको क्रान्तिकारी राजनीति र क्रान्तिकारी कम्युनिस्ट पार्टी आवश्यक पर्ने छ । त्यस क्रममा कम्युनिस्ट पार्टी सञ्चालनका लागि जनवादी केन्द्रीयताको विकल्प छैन । नयाँ पिँढी वा अरू कसैले कम्युनिस्ट पार्टी सञ्चालनको अर्को विकल्प ल्याउन सकेका छैनन् । त्यसैले जनवादी केन्द्रीयता नै कम्युनिस्ट पार्टीको सङ्गठन सञ्चालनसम्बन्धी सही अवधारणा हो । नयाँ पिँढीले पनि जनवादी केन्द्रीयतालाई व्यवहारमा लागु गर्नैपर्ने हुन्छ । जसले जान वा अन्जानमा साम्राज्यवादी प्रभावमा परेर जनवादी केन्द्रीयताको विरोध गर्दछन्, नियतवश होइन, परिणाममा साम्राज्यवादलाई नै मदत पुर्याउने छन् भन्नेबारे नयाँ पिँढी प्रष्ट, दृढ र सचेत हुनैपर्दछ ।
२०८० जेठ, काठमाडौँ