तमघास । गुल्मीका १२ पालिकामा १६ करोडभन्दा बढी बजेट कटौति भएको छ ।
सङ्घीय सरकारले वित्तीय समानीकरण अनुदानअन्तरगत बजेट कटौति गर्दा जिल्लाका पालिकाहरूमा रु १६ करोड १७ लाख ५० हजार बजेट कटौति भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख छविन्द बेल्वासेले जानकारी दिनुभयो ।
दुई नगरपालिका र १० गाउँपालिका गरी १२ पालिका रहेको गुल्मीमा सबैभन्दा धेरै रेसुङ्गा नगरपालिकामा रु एक करोड ६३ लाख ८७ हजार पाँच सय बजेट कटौति भएको छ ।
त्यस्तै, मुसिकोट नगरपालिकामा रु एक करोड ५९ लाख ५० हजार बजेट कटौति गरिएको छ । गाउँपालिकामध्ये इस्मामा रु एक करोड २६ लाख ५० हजार, गुल्मीदरबारमा रु एक करोड ३३ लाख २५ हजार, कालिगण्डकीमा रु एक करोड १९ लाख ७५ हजार, चन्द्रकोटमा रु एक करोड ३२ लाख ८७ हजार पाँच सय बजेट कटौति भएको छ ।
त्यसैगरी, छत्रकोटमा रु एक करोड ३१ लाख २५ हजार, धुर्कोटमा रु एक करोड ३३ लाख ७५ हजार, मदानेमा रु एक करोड २९ लाख ८७ हजार, मालिकामा रु एक करोड २८ लाख ७५ हजार, सत्यवतीमा रु एक करोड ३६ लाख ६२ हजार पाँच सय र रुरुमा रु एक करोड २१ लाख ५० हजार बजेट कटौती भएको कोष तथा लेखा नियन्त्रक बेल्वासेले जानकारी दिनुभयो ।
रुरु गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले सङ्घीय सरकारले बजेट कटौति गर्दा कार्यसम्पादनमा समस्या परेको बताउनुभयो ।
धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बजेट कटौतिले सम्झौता गरिएका योजना समयमै भुक्तान दिन नपाएको गुनासो गर्नुभयो ।
‘बजेट आउँछ भनेर योजना सम्झौता भयो । योजना कार्यान्वयन पनि भए तर बजेट नआउने भयो’ उहाँले भन्नुभयो– ‘त्यस्ता योजनाहरूको भुक्तानी आगामी आर्थिक बर्षमा दिन्छौँ ।’