पोखरा । कास्कीको पोखरामा यही असार ६ गते बुधबार विश्व सङ्गीत दिवस–२०८० मनाइने भएको छ ।
सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानको मुख्य आयोजनामा यहाँका १८ ओटा संस्थाले विश्व सङ्गीत दिवस मनाउन लागेका हुन् ।
२०८० असार ४ गते सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त संस्थाका अध्यक्ष नवराज बरालले पाँच वर्षदेखि रोकिएको विश्व सङ्गीत दिवसलाई निरन्तरता दिन साङ्गीतिक कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।
पोखरा उद्योग वाणिज्य सङ्घको हलमा आयोजना हुने सो साङ्गीतिक कार्यक्रमले पोखराको साङ्गीतिक गतिविधि बढ्ने विश्वास आयोजक संस्थाले गरेको छ । साङ्गीतिक कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुति गर्ने जानकारी सो अवसरमा दिइएको थियो ।
सोह्र विभिन्न प्रस्तुति रहने उक्त साङ्गीतिक कार्यक्रमा दर्शकले नि:शुल्क प्रवेश पाउने बताइएको छ ।
गण्डकी प्रज्ञा–प्रतिष्ठान तथा पोखरा प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा गर्न लागिएको उक्त कार्यक्रम आगामी वर्ष संयुक्त रूपमा मनाइने जानकारी सो अवसरमा दिइएको थियो । (रासस)