रवि पौडेल ##
“भाइ कता हिँडिस् ? इन्डियातिर हिँडिस् र ?”
“हजुर दाजी । एसएलसी पनि दिएँ । इन्डियातिरै जाऊँ कि भनेर ।”
“हिँड् । फर्की । दिल्ली जाउँला । तँ पान्डिचेरीमा गएर कमाउन सक्दैनस् । साना र कम तलबका नोकरी । राजनीति बढी हुन्छ । चन्दा–डोनेसन गर्दैमा तेरो तनखा सिद्धिन्छ ।”
“अहिले जान्छु के रे दाजी । एसएलसीको रिजल्ट पनि आएको छैन । विषय लाग्यो भने फर्किन्छु । पास भए केही समय आउँदिनँ होला ।”
यति संवादपछि हामी दुई भाइ छुट्टिएका थियौँ ।
“हिँड् । फर्की । दिल्ली जाउँला” भन्ने व्यक्ति मलाई सधैँ साथसहयोग गर्ने मेरै गाउँको नाताले दाजु पर्ने हुनुहुन्थ्यो यद्यपि अहिले उहाँले संसार छोडिसक्नु भएको छ ।
उहाँले दिल्लीमा नोकरी गर्नुहुन्थ्यो । बिरामी पर्दा समयमा उपचार गर्ने कोही नभएका कारण उहाँको मृत्युु भएको थियो । संस्मरणमा मैले उहाँलाई धेरै नै सम्झने गरेको छु ।
उहाँले भनेको पान्डिचेरीमा नजा; पैसा कमाउन सक्दैनस्† राजनीति बढी चल्छ† चन्दा–डोनेसनले तेरो तनखा सिद्दिन्छ—यी सबै कुरामा कति सत्यता थियो र छ ? त्योतर्फ नलागौँ तर उहाँको एउटा भनाइलाई उद्धृत गर्नैपर्छ : “राजनीति बढी हुन्छ ।”
त्यो समय १९९८ को जुलाई महिना थियो । जुलाईको १५/१६ तिर हुनुपर्छ, म दक्षिण भारतको पान्डिचेरी आएको ।
दाजुले “राजनीति बढी हुन्छ” भन्ने शब्दले मलाई निकै खुल्दुली लागिरहेको थियो । जब मैले १९९८ मा तत्कालीन अखिल भारत नेपाली एकता समाजको, जो अहिले मूल प्रवाहको नाम ले प्रख्यात छ, सदस्यता प्राप्त गरेँ । त्यसपछि विस्तारै टोल समिति हुँदै एरिया समितिसम्म पुग्दा बल्ल यहाँको राजनीति, नेता, कार्यकर्ता र शुभचिन्तकलाई नजिकबाट बुझ्ने पौका पाएँ ।
हुन त यहाँको नगर समिति जत्रै नेपालमा एरिया समिति हुन्छ । मैले बागलुङको दक्षिण भेगअन्तर्गत ६ नं. एरिया समितिको सचिवको रूपमा काम गरिसकेको थिएँ । काम गर्ने तरिका र शैलीको बारेमा मलाई राम्रै अनुभव थियो । अन्य कैयौँ समितिमा काम गरेको थिएँ । अखिल नेपाल युवक सङ्घको बागलुङ जिल्ला सङ्गठन समितिमा पनि बसेको थिएँ ।
भारतमा यहाँ मलाई एकता समाज के हो भन्नेबारे जान्नु थियो । एक/दुई वर्षमै एकता समाजको लक्ष्य र उद्देश्यबारे स्पष्ट भएँ । कुनै बेला म पनि प्रशिक्षक थिए । विषय तोकिएको हुँदैनथ्यो तर पनि विद्यार्थीहरूको बिचमा क्लास सञ्चालन गरिन्थ्यो । प्रशिक्षण दिन वा क्लास सञ्चालन गर्न अलि फरक व्यक्ति आए राम्रो हुन्थ्यो भन्ने सबैलाई चाहना हुन्छ तर जिम्माले अर्कै तय गरेको हुन्थ्यो ।
मलाई भारतमा एकता समाजका टोल, एरिया र युवक मोर्चा अनि रक्तिमको विभिन्न पदमा जिम्मेवारीपुर्वक काम गर्ने अवसर मिल्यो । पहिले युवक मोर्चाको नगर सचिवको रूपमा काम गरियो । पछि मूल प्रवाह नगर समितिको पूर्ण सदस्यको रूपमा निर्वाचित भइयो । त्यो कुन सम्मेलन थियो ? याद नभए पनि त्यो कास्की पोखराका चन्द्रबहादुर केसी अध्यक्ष भएको समय थियो ।
हो । दाजुले भने झैँ यहाँ धेरै राजनीति हुन्थ्यो र छ पनि । दक्षिण भारतअन्तर्गत पान्डिचेरी नगरमा मूल प्रवाहलाई टक्कर दिने राजनीति सङ्गठन अहिलेसम्म छैन । प्रवासी नेपालीका अरू सङगठन छन् । जनसम्पर्क समिति छ तर मूल रूपमा प्रवासीको हकहितको पक्षमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नै अग्रिम स्थानमा छ यद्यपि उहाँहरूको अस्तित्व नै छैन भनेर भन्न खोजिएको भने होइन । अप्ठ्यारोमा हामी कहिलेकाहीँ एकै ठाउँमा पनि हुने गरिन्छ ।
राजनीति सङ्गठन र सिद्धान्तको आधारमा हुन्छ । यहाँ त्यही रूपमा मूल प्रवाह परिचालित छ ।
यहाँको सुरुआती कुरा गर्ने हो भने धेरैजसो साथीहरू बागलुङका, त्यसमा पनि हालको जैमिनी नगरपालिकाका हुनुहुन्छ, त्यो पनि
आफ्नै दाजुभाइ । यसकारण पनि राजनीति अलि पेचिलो, अलि रसिलो, अलि घमण्डी जस्तो देखिन्थ्यो तर एउटै सङ्गठनभित्र धेरै कार्यकर्ता, विरोधीहरू टक्करमा आउने स्थिति भएन र अहिलेसम्म पनि छैन ।
त्यति बेला एघारओटा एरिया समिति थिए । त्यतिकै सङ्ख्या टोल समिति थिए । त्यससँगै रक्तिम, समता, जनजाति, महिला, युवक मोर्चा र विद्यार्थी सङ्गठनका आधा दर्जन समिति थिए ।
युवक मोर्चामा राम्ररी काम गर्ने अवसर मिलेको थियो । म युवक मोर्चा नगर समितिको सचिव चयन हुदा अध्यक्ष प्रेम सुवेदी हुनुहुन्थ्यो । उहाँसँग निकै मिलेर काम गरेकोे अनुभव छ ।
हामीले नेकपा (मसाल) लाई राजनैतिक समर्थन गर्दछौँ । राष्ट्रिय जनमोर्चा नेकपा (मसाल) को खुला चुनावी मोर्चा भएको हुनाले त्योसँग हाम्रो सम्बन्ध हुन्छ नै । यसकारण पार्टीमा हावा चल्दा जनवर्गीय सङ्गठन र सामाजिक सङ्गठनमा पनि हावा चल्ने र पात हल्लिने हुन्छ । कतिपय अवस्थामा हाँगा भाचिने पनि गर्दछन् । अर्कोतर, जब राजनीतिमा सही विचारको पक्षमा दृढ आस्था र विश्वास कायम हुन्छ, तब कुनै पनि हावाले हल्लाउन सक्दो रहेनछ ।
कतिपय ठाउँमा कतिपय बेइमान साथीहरूले मलाई पछिल्लो हावाले हल्लाएको भन्ने हल्ला गरेर आफ्नो दुनो सोझाउने काम पनि गरेका रहेछन् । सत्य तथ्य र प्रमाणबिना बोल्ले साथीहरूको मुख थुन्न नसकिँदो रहेछ । यसरी बोल्दा सायद आफू कट्टर र ठुलो भएँ जस्तो लाग्थ्यो होला उनीहरूलाई ।
नेकपा (मसाल) को २०५९ सालदेखि २०६४ सम्म नेकपा (एकताकेन्द्र) सँग पार्टिएकता भएर वास्तविक पार्टी एकीकरण हुन सकेन । दु:ख लाग्यो : दुई लाईनबाट अढाइ लाइन र थर्डलाइनको सङ्घर्ष चल्यो । हामीमा नेकपा (मसाल) को मूल लाइनप्रति आस्था र विश्वास थियो । त्यसैले ढलाउन र हल्लाउन कसैले सकेन । ठिक त्यसैगरी आठौँ महाधिवेशनताका पनि दुई लाइनको सङ्घर्षमा कतै ढुलमूल नभएको सत्य हो तर कैयौँ साथीहरूले दुई डुङ्गामा खुट्टा राखे । हो, हस्, हुन्छ भनेर स्वरमा स्वर पनि मिलाए । वातावरण त्यस्तै थियो तर स्पष्ट मत लिन सक्नुपथ्र्यो ।
यथार्थ के हो भने करिब चार/पाँच वर्ष म आफै विभिन्न समितिमा पत्र पठाएर समितिबाहिर रहेको कुरा सत्य हो । त्यति बेला राजनीति र व्यावहारिक, साथै पारिवारिक समस्या थिए । कैयौँ समस्या समितिमा समेत मौखिक र लिखित रूपमा जानकारी गराएको थिएँ । ती समस्या हल भए/भएनन् ? त्यो विषय यो लेखसित सम्बन्धित छैन तर त्यो समयमा पनि पार्टी सङ्गठनको नीति र नियमबाहिर गएको कुनै एउटा पनि प्रमाण छ भने पेस गर्न अनुरोध गर्दछु ।
वास्तवमा पान्डिचेरी नगर समिति भनेको नेता र कार्यकर्ताले भरिएको नगर थियो । यहाँ करिब ३५/४० जनाजति राम्ररी बुझेका जुझारु नेता/कार्यकर्ता थिए तर पछिल्लो समयमा नोकरीबाट अवकाश दिने र रिटायरमेन्ट हुनुको कारण यो सङ्ख्या घट्दै गएको छ भने अर्कोतिर माउपार्टीमा लागेको हावाले कतिपय पात हल्लिने र झर्नुको कारण साथीहरू घट्नुभएको छ ।
कतिपयले थर्ड लाइनको समर्थन पनि गरेका थिए । ती साथीहरू पछि फर्के । केही समयपहिले मसालको आठौँ महाधिवेशनताका दोस्रो प्रस्तावलाई सहयोग गरेका साथीहरूले छुट्टै समूह गठन गरे । त्यसकारण केही कार्यकर्ता उतापट्टि लागे । फेरि पनि पान्डिचेरी नगर समितिमा कार्यकर्ताको कमी छैन । भोलि के हुन्छ ? त्यो गर्भको कुरा हो । अहिले पनि हाम्रो नगर क श्रेणीमै आउँछ ।
एक जना दाजुले “पान्डिचेरीमा राजनीति बढी चल्छ” भन्नुभएको थियो । त्यो यथार्थ थियो । उहाँले यो सबै कुरा बुझेर मलाई दिल्ली जाउँला भन्नुभएको रहेछ । म दिल्लीतर्फ गएको भए के हुन्थ्यो ? हुन त देशमै साथीहरूले भारत नजान सल्लाह दिनुभएको हो ।
प्राइभेटबाट फर्म लगाउने र क्याम्पस पढ्दै विद्यार्थी सङ्गठनमा काम गर्ने सल्लाह सुझाव दिनुभएको हो । साथै क्याम्पस पढ्न सहयोग गर्छाैं भन्नुभएकै हो । फेरि पनि मेरो मनले नोकरी गर्ने जिद्दी गर्यो । देशमै काम गरेको भए कुन समितिमा पुग्थे ? अहिले कुन समितिमा छु ? भन्ने हिसाब गर्ने मलाई फुर्सद नै भएन तर उपल्लो समितिमा जान पाइनँ भन्ने गुनासो छैन ।