काठमाडौं । गएको जेठ ३१ गतेदेखि परेको अबिरल वर्षाका कारण पूर्वी नेपालमा ब्यापक जनधनको क्षति भएको छ ।
बाढी तथा पहिरोबाट ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, विभिन्न जिल्लामा गरी ६ जना घाइते भएका छन् भने २९ जना बेपत्ता भएको तथ्यांक छ ।
बाढी एवम् पहिरोमा परी संखुवासभामा १ जना, ताप्लेजुङमा ३, पाँचथरमा १ र नुवाकोटमा १ जना गरी ६ जनाको मृत्यु भएको हो। जसमध्ये ५ जना पुरूष र १ जना बालिका रहेका छन्।
साथै बाढी एवम् पहिरोमा परी संखुवासभामा ३ जना, ताप्लेजुङमा २ जना र पाँचथरमा १ जना गरी जम्मा ६ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ।
यस्तै, बाढी पहिरोमा परी संखुवासभामा २१ जना, ताप्लेजुङमा ३ जना र पाँचथरमा ५ जना गरी जम्मा २९ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी छ।
बाढी एवम् पहिरोको कारण ३५ वटा घर, १० वटा गोठ, १३ वटा पुल, ५ वटा उद्योग र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ६७ वटा पशु चौपायको मृत्यु भएको छ।
सो अवधिमा विपद्का घटनाबाट ९७ घर परिवार विस्थापित भएका छन्। साथै, बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम गरिरहेको प्रहरीले जनाएको छ।
विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोग विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ।