दाङ । दाङमा बोक्सीको आरोप लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमनपा–२ निमुरियाका ४५ वर्षीय यमबहादुर सार्की र घोराही ३ का ३३ वर्षीय सरस्वती गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार गत जेठ ३१ गते सरस्वतीले आफ्नो छोरा बिरामी भएको जनाउँदै यमबहादुरलाई बोलाएर झाक्री बसाएको र सोही क्रममा देउरानी जेठानी नाता पर्ने गाउँका दुई महिलालाई ‘तिमीहरू बोक्सी लागेर मेरो छोरा खान लाउन भनेको’ भन्दै उजुरी परेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई बोक्सीको आरोप कसुर र सजाय ऐन–२०७२ को दफा ३ को (च) अन्तर्गत धामिझाक्रीको माध्यमद्वारा बोक्सीको आरोप लगाउन नहुने कसुरमा असार ३ गते आइतबार दाङ–देउखुरी जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको दाङ प्रहरीका प्रवक्ता गौतमले बताउनुभएको छ । (रासस)