कुश्मा । पछिल्लो दुई महिनायता पर्वतमा गाईभैँसीमा लाग्ने लम्पिस्किन रोग तीव गतिमा फैलिएपछि पर्वतको गोठ गोठमा पशुप्राविधिक पुग्ने व्यवस्था मिलाइएको छ ।
शाखाले उक्त रोगको नियन्त्रण र रोकथाम गर्नका लागि १० जना प्राविधिकलाई किसानको गोठगोठमा खटाएको छ ।
लम्पिस्किन रोग तीव्र गतिमा फैलिन थालेको र यसको उपचार पद्दति महङ्गो हुँदा पशुपालक किसानलाई उपचारमा व्यापक आर्थिक भार पर्ने भएकाले नगरपालिकाले खोप खरिद गरी नि:शुल्क उपचार गर्न थालेको पशुविकास शाखा प्रमुख पौडेलको भनाइ छ ।
लम्पिस्किन रोग लागेका पशुको निरन्तर जाँच तथा नि:शुल्क रूपमा उपचार खटिएको पशु प्राविधिकले बताएका छन् ।
हालसम्म एक हजार तीन सय पशुमा नि:शुल्क रूपमा खोप लगाइएको नगरपालिकाले जनाएको छ । पशुमा रोग लागेर चिन्तित बनेका पशुपालक किसान नि:शुल्क उपचारसहित खोप पाउँदा हर्षित भएका छन् । काप्रिपक्स भाइरसको सङ्क्रमणबाट विशेषगरी गाईमा लाग्ने यो रोग भैँसीमा भने विरलै देखिन्छ ।
जिल्लाका सातओटै पालिकामा फैलिएको लम्पिस्किनबाट हालसम्म पाँच गाई मरेका छन् । भैँसीमा यो रोग हालसम्म देखा परेको छैन ।
लम्पिस्किन रोग लागेका गाईबस्तुमा उच्च ज्वरो आउने र शरीरभरि साना–ठूला गिर्खा देखिने लक्षण देखिएको छ । शरीरका विभिन्न ठाउँमा विशेषगरी घाँटी, पछाडिको भाग, पेट र थुनवरिपरि १० देखि ५० मिमिसम्मका गिर्खा देखिन्छन् ।
यसका साथै कचेरा निकाल्ने, सिगान बग्ने तथा फिँज धेरै निकाल्ने, लिम्फ नोडहरू सुनिने, घाँटी तल पानी भरिने, दुध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र पछि बाँझोपन देखिन सक्ने जस्ता लक्षण देखिएको पौडेलले बताउनुभयो । (रासस)