दिनेश रैदास, दाङ ।
राष्ट्रिय जनमोर्चा दाङले आगलागी पीडितलाई राहत वितरण गरेको छ ।
राजपुर गाउँपालिका–५ महातेनी खोलाका आगलागी पीडित टेकबहादुर बुढालाई राजमोले २०८० असार २ गते शनिबार राहत वितरण गरेको हो ।
राजमो दाङका सचिव वसन्तराज पौडेलको नेतृत्वमा पीडितको घरमै पुगेर राहत वितरण गरिएको छ ।
पौडेल नेतृत्वको टोलीमा राजमो लमही नगर अध्यक्ष तथा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का जिल्ला अध्यक्ष हरिबहादुर थापा, अखिल नेपाल शिक्षक सङ्घ दाङका अध्यक्ष रुमालप्रसाद बस्याल, राजमो जिल्ला सदस्य ठाकुर भण्डारी, राजमो नेता झबिन्द्रप्रसाद आचार्य र विष्णु भुसाल र अखिल (छैठो) दाङ जिल्ला सचिव दिनेश रैदास रहनुभएको थियो ।
राजमो लमही नगरले पीडितलाई नगद सात हजार रुपैयाँ, चामल दुई बोरा, दाल चार केजी, चिनी र एक जोडी कपडा वितरण गरेको छ । त्यस क्रममा राजमो राजपुरका नेता जसबहादुर घर्तीले एक बोरा चामल, जुना घर्तीले ब्लाङ्केट र अनिल घर्ती एक बोरा चामल र दाल सहयोग गर्नुभएको थियो भने होटल पौवा भालुबाङले पनि एक बोरा चामल सहयोग गरेको थियो ।
पीडित टेकबहादुर बुढाको घरमा आगलागी हुँदा घर खरको छानो काठ जलेर नष्ट भएको थियो । आगलागी पीडित बुढाको परिवार आजभोलि गोठमा बस्दै आएका छन् । पीडित बुढाको दुईतले घर जलेर नष्ट भएको थियो । आगलागीबाट ८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । त्यस क्रममा नगद तथा जिन्सी सामानलगायत गहना, अन्नपात तथा लुगाफाटो सहित पुरै जलेको छ ।