गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा घरपरिवारको नेतृत्व महिलाले गरेको पाइएको छ । २०७८ सालको राष्ट्रिय जनगणनामा भूमिकास्थान पहिलो नम्बरमा र शीतगङ्गा अन्तिम नम्बरमा देखिएको छ ।
२०८० असार १ गते शुक्रबार राष्ट्रिय जनगणना २०७८ को नतिजा सन्धिखर्कमा सार्वजनिक गर्दै गर्दा यस्तो जानकारी गराइएको छ ।
तथ्याङ्कअनुसार भूमिकास्थानमा ५० दशमलव ४ प्रतिशत र शीतगङ्गामा ३९ दशमलव ३ प्रतिशत महिलाले घरको नेतृत्व गर्दै आएका छन् ।
२०७८ मङ्सिर ९ गतेसम्म अर्घाखाँचीको जनसङ्ख्या एक लाख ७७ हजार ८६ रहेको छ, जसमा ९६ हजार चार सय १४ महिला र ८० हजार छ सय ७२ पुरुष रहेका छन् ।
त्यस्तै, अर्घाखाँचीको जनसङ्ख्या वृद्धिदर –१ दशमलव ०५ प्रतिशतले घटेको देखिएको छ भने सन्धिखर्कमा ० दशमलव ३२ प्रतिशले जनसङ्ख्या वृद्धि भएको देखिएको छ ।
प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको अध्यक्षता, जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाको प्रमुख आतिथ्य र जिल्लास्थित सुरक्षा निकाय, सरकारी कार्यालय, पत्रकार तथा अन्य सरोकारवाला सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा तथ्याङ्क सार्वजनिक गरिएको थियो ।
कार्यक्रम अर्घाखाँची, कपिलवस्तु र रुपन्देही हेर्ने गरी कपिलवस्तुमा स्थापना भएको तथ्याङ्क कार्यालयको तर्फबाट तथ्याङ्क अधिकृत नन्दलाल कुर्मी र कार्यालय सहायक सुधन घिमिरेको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।