भैरवराज रेग्मी ##
१. सांस्कृतिक आन्दोलनको दृष्टिकोण र भ्रम
अर्धसामन्ती र अर्धऔपनिवेशिक स्वरूपको यो नेपाली समाजमा सांस्कृतिक आन्दोलनबारे माक्र्सवादी–लेनिनवादी पङ्क्तिभित्र एउटा निर्दिष्ट दिशा नै निर्धारित छ । त्यसको प्रयोगबारे निकै भ्रम तथा गलत दृष्टिकोण पैदा हुने गर्दछन् । त्यस प्रकारको भ्रम र दृष्टिकोण विरुद्ध लगातार वैचारिक सङ्घर्ष/बहस चलाउनुपर्ने आवश्यकता भइरहन्छ । वास्तवमा यो वैचारिक सङ्घर्ष पनि वर्गसङ्घर्षको एक अङ्ग हो ।
नयाँ जनवादी क्रान्तिको चरणमा देशको सांस्कृतिक आन्दोलनको दिशा जनवादी सांस्कृतिक आन्दोलन नै हुन्छ । यो सामन्तवाद र साम्राज्यवाद विरुद्ध हुन्छ । नयाँ जनवादी व्यवस्थाको स्थापनासँगै सर्वहारा सांस्कृतिक आन्दोलनको आधार पनि तयार पार्दै लैजानुपर्छ तैपनि जनवादी संस्कृति सर्वहारा संस्कृति हुँदैन । त्यसैले नयाँ जनवादी व्यवस्थामा सामन्तवाद–साम्राज्यवाद विरुद्ध जनवादी सांस्कृतिक आन्दोलनलाई नै केन्द्रविन्दु बनाउनुपर्दछ ।
नेपाल पूर्ण रूपमा पुँजीवादमा प्रवेश नगरे पनि पुँजीवादतर्फ सङ्क्रमणको अवस्थामा छ तर सामन्तवाद समाप्त भएको छैन । पुँजीवादतर्फ सङ्क्रमणको अवस्थामा रहेकाले साम्राज्यवादले दलाल पुँजीवादको विकासका लागि जोडबल गरिरहेको हुन्छ । यसबाट पुँजीवादी विकास सुरु हुन्छ तर पनि सामन्ती संस्कृति आधारभूत रूपमा समाप्त भइसकेको हुँदैन ।
सामन्तवादभित्र दलाल पुँजीवादको प्रवेश र यसले दलाल पुँजीवादी समाजमा विकसित हुने चरित्र अहिलेको युग हो । यसका लागि साम्राज्यवादी संस्कृतिले हस्तक्षेपकारी भूमिका खेलेको हुन्छ । त्यसैले पुँजीवादमा पूर्ण प्रवेश नगरेता पनि साम्राज्यवादको दलाल पुँजीवादी संस्कृतिको प्रवेशले नेपाली समाज ग्रसित हुँदै गइरहेको छ । विज्ञान र प्रविधिमाथि साम्राज्यवादी नियन्त्रण बढिरहेको छ । त्यसबाट उत्पन्न हुने जनताको आनिबानी, छाडा संस्कृति, दलाल प्रवृत्ति, महिलालाई भोगको साधन बनाउने र महिलालाई उत्पादनको विज्ञापन बनाउने प्रवृत्तिलाई उच्च ठान्ने संस्कृति आदि विषयमा नेपाली समाज गिजोल्लिरहेको छ । मानव अधिकार वा डेमोक्रेसीको नाममा व्यक्तिवादले सामाजिक रूपमै जरो गाड्न थालेको छ । राष्ट्रिय पुँजीवादी संस्कृतिमाथि हमला बढिरहेको छ । यसका विरुद्ध सर्वहारा वर्गको नेतृत्वमा राष्ट्रिय पुँजीवादी संस्कृतिलाई अगाडि बढाउनु आजको जनवादी सांस्कृतिक आन्दोलनको मूल दिशा हो ।
हाम्रो समाजमा एकातिर, छाडा पुँजीवादी संस्कृति मौलाउँदै गइरहेको छ भने अर्कोतिर, सामन्ती संस्कृतिले पनि जरो गाडेकै छ । राष्ट्रियताको संरक्षणका लागि देशप्रेमको भावनाका गीत, जनतामाथि भएका सामन्ती शोषणको चित्रण र त्यसबाट मुक्त हुने उपायको साहित्य र गीतभन्दा सामन्ती, साम्राज्यवादी, यौनवादी, उच्छृङ्खल गीत र संस्कृतिलाई प्रधान ठान्ने प्रवृत्ति सँगसँगै हुर्किरहेका छन् । यसलाई स्पष्ट रेखाङ्कन गर्नुपर्नेमा सामन्तवादी संस्कृतिको विरोध गर्ने नाममा साम्राज्यवादी दलाल संस्कृतिलाई अनुशरण गर्ने र त्यसलाई सैद्धान्तिकीकरण गर्ने प्रवृत्ति बढिरहेको छ ।
साहित्य, संस्कृति र कलामा विज्ञान र प्रविधि प्रयोगको नाममा साम्राज्यवादी संस्कृतिलाई नै मदत पुग्ने दृष्टिकोणको विकास हुँदै गइरहेको छ । विज्ञान र प्रविधिको विकासले कला, साहित्य र संस्कृति उच्चस्तरमा विकास हुँदै जान्छ तर त्यो कुन दिशामा विकास हुन्छ : पुँजीवादी साम्राज्यवादी संस्कृति वा सर्वहारा, मजदुर–किसान मिहिनेतकश जनताको पक्षमा ? कला, साहित्य र संस्कृतिको विकासका लागि साम्राज्यवादले विज्ञान र प्रविधिलाई कब्जा गरेर (युट्युब, फेसबुक जस्ता सामाजिक सञ्जालको प्रयोग गरेर) छाडा, अराजकतावादी संस्कृतिको विकास गरिरहेको छ । मिहिनेतकश जनतालाई त्यसैमा भुलाइरहेको छ । यसैलाई ‘बदलिएको स्थिति’ को मूल्याङ्कन गरेर त्यसको विरुद्ध जाने कुरामा हिच्किचाउनु गलत दृष्टिकोणको परिणाम हो ।
२. साहित्य, संस्कृति र कलाको दिशासम्बन्धी भ्रम
कला, साहित्य र संस्कृति वर्गीय हुन्छ भन्ने कुराप्रति साम्राज्यवादले भ्रम फैलाइरहेको छ । यो उसको चरित्र नै हो । साम्राज्यवादी संस्कृतिको विकासबिना साम्राज्यवादको अस्तित्व रहँदैन । यस प्रकारको साम्राज्यवादी चरित्रलाई नबुझ्नु भ्रम र गलत दृष्टिकोण हो । साम्राज्यवादले जनतामा भ्रम दिन साहित्य र संस्कृतिको वर्गीय दृष्टिकोणको विरोध गर्दछ । राजनीतिमा व्यक्तिको स्वतन्त्रता हुने र व्यक्तिको जीवनलाई स्वतन्त्रता र मनोरञ्जन दिने माध्यमको रूपमा कला, साहित्य र संस्कृतिलाई व्याख्या गर्दछ । कला र साहित्य व्यक्तिगत स्वतन्त्रताभित्र पर्दछ र यी मनोरञ्जनका साधन हुन् भनेर त्यसैमा रमाइरहने संस्कृतिको विकास गराइरहेको हुन्छ । व्यक्तिगत स्वतन्त्रता र मनोरञ्जनको आडमा पुँजीवादले मालको विक्री गर्ने माध्यमको रूपमा प्रयोग गर्दछ ।
व्यक्ति आफै स्वतन्त्र हो तर त्यो मानव समाजभन्दा बाहिर हुँदैन । मानव समाजभित्रकै अङ्ग हुनाले अर्को व्यक्तिको स्वतन्त्रतामा हस्तक्षेप गर्नुहुँदैन भन्ने प्राकृतिक न्याय सिद्धान्तको आधारमा सामाजिक नियम बनेको हुन्छ । त्यसैले त्यो नियमको आधारमा नै ऊ बस्नुपर्दछ । साम्राज्यवादले यस नियमलाई तोड्छ र व्यक्तिगत स्वतन्त्रताको नाममा मानव समाजलाई अराजकतातिर धकेल्दछ र मानव समाज नै ध्वस्त बनाउन पुग्दछ । साम्राज्यवादको यस प्रकारको कुटिल चाललाई नबुझेर कला, साहित्य र संस्कृतिमा व्यक्तिगत स्वतन्त्रताको कुरा गरेर, चेतनालाई प्रधानता दिएर व्यक्तिसिर्जित संस्कृतिको सैद्धान्तिकीकरण गर्ने प्रवृत्तिले नेपाली सांस्कृतिक आन्दोलनमाथि गम्भीर असर पारिरहेको छ । यसले जनतामा एक प्रकारको भ्रम सिर्जना गरिरहेको छ । सत्ताको वर्गीय संरचनाको विश्लेषण नगरिकन त्यसमा प्रवेश गर्ने राजनैतिक शक्तिले सत्ताको वर्गीय चरित्रलाई बदल्ने कोसिस गर्दैनन् कि त्यसैलाई टेकेर साम्राज्यवादी संस्कृतिलाई मदत गने प्रयत्न गर्दछन् । त्यसैलाई सैद्धान्तिकीकरण गर्दछन् । यसरी सांस्कृतिक आन्दोलन दिग्भ्रमित हुने गर्दछ र यही नै सांस्कृतिक आन्दोलनभित्रको संशोधनवाद र विर्सजनवाद हो ।
चेतनाको विकास वस्तुगत परिस्थितिले निर्धारण गर्दछ । त्यसमा विज्ञान र प्रविधि (उत्पादनका साधन) ले त्यसलाई परिस्कृत गर्न मदत पुर्याउँछ । त्यस प्रकारको चेतना वर्गीय अन्तरद्वन्द्वको आधारमा गुणात्मक फड्को मार्छ र दृष्टिकोण बन्दछ । वर्गीय अन्तरद्वन्द्व भनेको सैद्धान्तिक सङ्घर्ष र वर्गसङ्घर्ष हो । दृष्टिकोण बनेपछि उसको व्यावहारिक क्रियाकलापमा परिवर्तन हुन्छ । चेतनाको मात्रात्मक परिवर्तनपछि मात्र गुणात्मक फड्को मार्छ । यो क्रमको विकास सैद्धान्तिक र वर्गीय सङ्घर्षका आधारमा निर्भर रहन्छ । त्यो नियमलाई पालना नगरिकन सामान्य र उपरी तहमा जबर्जस्ती फड्को मार्न गरिने प्रयत्न पनि गलत हुन् ।
नयाँ जनवादी सांस्कृतिक आन्दोलनभित्र समाजवादी संस्कृति लागु हुन्छ भन्ने चिन्तन पनि अराजकतावादी चिन्तन हो । यो कालमा समाजवादी संस्कृतिका विचार प्रचार गर्ने, त्यसका आधारलाई जग बसाल्ने प्रयत्न गर्नुपर्दछ । यस प्रकारको कार्यलाई निषेध गर्ने कुरा पनि विसर्जनवाद हो । यी दुवै प्रवृत्तिले जनवादी सांस्कृतिक आन्दोलनलाई क्षति पुर्याउँछ । जनवादी सांस्कृतिक आन्दोलनभित्र सामन्तवादी र साम्राज्यवादी संस्कृतिलाई नै मदत पुर्याउँछ । समाजवादी संस्कृतिको प्रचार र त्यसको आधार तयार पार्दै नयाँ जनवादी व्यवस्थापछि आउने समाजवादी व्यवस्थामा समाजवादी संस्कृति लागु गर्ने नयाँ जनवादी सांस्कृतिक आन्दोलनको आधारभूत प्रक्रिया हो किनभने नयाँ जनवादी कालमा समाजवादी संस्कृति स्थापित हुन सक्दैन । नयाँ जनवादी काल सर्वहारा संस्कृति स्थापनाको प्रक्रिया र साम्राज्यवादी संस्कृतिको विस्थापन काल हो । राष्ट्रिय संस्कृतिको संरक्षण र सामन्ती संस्कृतिको समाप्तिका लागि साम्राज्यवादी संस्कृति विरुद्ध जाँदा राष्ट्रिय पुँजीवादी संस्कृति र दलाल पुँजीवादी संस्कृतिबिचमा अन्तर गरिएन भने त्यसले पनि गलत बाटोतिर लैजान्छ ।
नेपालमा राष्ट्रिय पुँजीवादी संस्कृति र दलाल पुँजीवादी संस्कृतिको मिश्रित अवस्था एकसाथ अगाडि बढिरहेको छ । त्यसलाई अन्तर नगरिकन राष्ट्रिय संस्कृतिलाई दलाल संस्कृतिसँग एकै ठाउँमा मिसाइदिएर राष्ट्रिय संस्कृतिको संरक्षणको सट्टा राष्ट्रिय संस्कृतिलाई गौण बनाउने वा त्यसको अस्तित्वलाई नकार्ने प्रवृत्ति अराजकतावादी चिन्तनभित्र नै पर्दछ । अर्कोतिर, राष्ट्रिय संस्कृतिलाई पनि दलाल संस्कृतिसँग मिसाएर दलाल संस्कृतिको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति दक्षिणपन्थी प्रवृत्ति हो । यसरी सांस्कृतिक आन्दोलनलाई सचेत बनाउँदै लैजानुपर्दछ ।
३. सांस्कृतिक आन्दोलनको सङ्गठनसम्बन्धी अवधारणा
समाजको विकास मानव समाजको सङ्गठित शक्तिको आधारमा हुन्छ । यसभित्र कुनै व्यक्ति वा चिन्तकको भूमिका पनि सङ्गठित स्वरूपबाट नै अघि बढेको हुन्छ । क्रमानुसार राज्यसत्ताको विधि र कानुनका आधारमा सांस्कृतिक धरातल स्थापित र विकास हुने गर्दछ । त्यसैले व्यक्ति आफैले चिन्तन गरेका विषय पनि सङ्गठित रूपमा नै अगाडि बढेको हुन्छ । सङ्गठित शक्तिको आधारमा नै व्यक्तिको भूमिका पनि निर्धारित हुन्छ । त्यसैले व्यक्ति गौण हुन्छ; सङ्गठन प्रधान हुन्छ र समाज प्रधान हुन्छ । व्यक्ति प्रधान भन्ने दृष्टिकोणले चेतना प्रधान मान्दछ र व्यक्तिको चिन्तनले समाज अगाडि बढ्दछ भन्ने मान्यता राख्दछ । यो द्वन्द्वात्मक भौतिकवादी प्रणाली विपरीत आदर्शवादी चिन्तन हो । व्यक्ति चिन्तनको आधारमा समाज अगाडि बढ्ने होइन, सामाजिक अन्तरविरोधको आधारमा समाज अगाडि बढ्छ । व्यक्ति त एक कारक मात्र हो । शोषणयुक्त समाजलाई कायम राख्न सामन्त, दलाल पुँजीपति कारक हुन्छन् भने शोषणमुक्त समाज बनाउन मिहिनेतकश जनता, किसान, मजदुर तथा सर्वहारा वर्गका प्रतिनिधि कारक तत्त्व हुन्छन् । त्यसैले यसरी वर्गीय स्वार्थलाई कायम राख्न समाजमा वर्गीय अन्तरविरोध हुन्छ, सङ्घर्ष चल्दछ । यो नै वर्गसङ्घर्ष हो । त्यसैले व्यक्ति प्रधान हुँदैन, सङ्गठन प्रधान हुन्छ ।
माथिका मान्यताको आधारमा व्यक्तिलाई सङ्गठनले अघि सार्दछ, सङ्घर्षका दौरानमा ऊ स्थापित हुन्छ तर यसको ठिक विपरीत स्थापित भइसकेको व्यक्तिले आफू सर्वोपरी ठान्दछ र मैले नै सङ्गठन निर्माण, विकास गरेको हो; मबिना सङ्गठन चल्दैन भन्ने प्रकारको मान्यता सर्वहारावर्गीय दृष्टिकोण, अझ फराकिलो दृष्टिकोणमा भन्ने हो भने मानव समाजको विकासक्रमसँग मेल खाँदैन । यो शोषक, सामन्ती तथा साम्राज्यवादी दृष्टिकोण हो । जनवादी सांस्कृतिक आन्दोलनका दौरानमा सङ्गठनभित्र यस प्रकारका गलत प्रवृत्ति बारम्बार देखा पर्ने गर्दछन् । वास्तवमा सांस्कृतिक आन्दोलनभित्र यो गम्भीर समस्या नै रहेको छ । कवि, कथाकार, आख्यानकार, गायक, सङ्गीतकारहरू द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणलाई “मानेको छु” भनेर आफूलाई सर्वोपरी ठान्दछन् तर व्यवहारमा उनीहरूमा यस प्रकारको विश्वदृष्टिकोणमा त्रुटि रहेको हुन्छ । उनीहरूको लेखन, व्याख्यामा सर्वहाराको पक्षमा लेखिएता पनि व्यवहारमा त्यसको विपरीत क्रियाकलापबाट उनीहरू हिँडछन् । यो गलत प्रवृत्ति हो । यसको विरुद्ध वैचारिक बहस र सङ्घर्ष चलाउनुपर्दछ ।
सङ्गठनहरू विविध स्वरूपमा गठन भएता पनि यसको चरित्र र दिशा दुईओटा मात्र हुन्छन् : एउटा– शोषक वर्गलाई मदत र विकास गर्ने सङ्गठन, अर्को– शोषित वर्ग, मिहिनेतकश जनता, मजदुर, किसान र सर्वहारा वर्गलाई विकास गर्ने सङ्गठन । साम्राज्यवादको युगमा दलाल पुँजीवादको उदय हुने हुनाले त्यसले राष्ट्रिय पुँजीपति वर्गलाई समाप्त पार्दछ । राष्ट्रिय पुँजीपति वर्गको संरक्षण र विकास सर्वहारा वर्गले नै गर्नुपर्ने हुन्छ किनभने समाजवादमा सङ्क्रमण गर्नका लागि राष्ट्रिय पुँजीको विकास गर्नु अनिवार्य हुन्छ । त्यसैले नयाँ जनवादी क्रान्ति सर्वहारा वर्गको नेतृत्व र क्रान्तिकारी अधिनायकत्वमा सम्पन्न हुन्छ । यस प्रकार कम्युनिस्ट पार्टीको नेतृत्व र क्रान्तिकारीहरूको संयुक्त मोर्चाको आधारमा जनवादी सांस्कृतिक आन्दोलन अगाडि बढ्छ । कम्युनिस्ट पार्टीको प्रत्यक्ष नेतृत्वमा नै सांस्कृतिक मोर्चा सञ्चालन हुन्छ । सांस्कृतिक मोर्चाले सर्वहारा वर्गीय सांस्कृतिक आन्दोलन अगाडि बढाउनुपर्दछ ।
यसकारणले जनवादी सांस्कृतिक आन्दोलन कम्युनिस्ट पार्टीको नेतृत्वमा नै विकास गर्ने कुरामा जोड दिनु अहिलेको आवश्यकता हो । त्यसैले कुनै पनि साहित्यकर्मी, कलाकार, कम्युनिस्ट पार्टीको मातहतमा हुन्छन् र हुनुपर्दछ । त्यसबाट स्वतन्त्र हुने, अलग पहिचान बनाउने अथवा सामन्तकालीन दृष्टिकोणका आधारमा ‘वीरपुरुष’ वा “साहित्यकार” वा “महान् कलाकार” को पहिचान बन्ने कुरा द्वन्द्वात्मक भौतिकवादी प्रणालीभित्र पर्दैन । सर्वहारा सांस्कृतिक आन्दोलन अगाडि बढाउने माध्यम कम्युनिस्ट पार्टीको नेतृत्वमा नै सांस्कृतिक मोर्चामार्फत् अगाडि बढाउनुपर्दछ । सबै लेखक, कलाकारहरू सच्चा कम्युनिस्ट पार्टीको नेतृत्वको झन्डामुनि रहेर मात्रै नयाँ जनवादी सांस्कृतिक आन्दोलनलाई सफल पार्न सक्छन् । त्यसैले कम्युनिस्ट पार्टी र मोर्चाबिचको अन्तरबारे पनि हामी स्पष्ट हुनुपर्दछ ।
रक्तिम सांस्कृतिक अभियान एक जनसङ्गठन हो । कम्युनिस्ट पार्टी क्रान्तिको पेसा अपनाउने सर्वहारा वर्गको पार्टी हो । जनसङ्गठनभित्र कम्युनिस्ट पार्टीका सदस्यले उक्त सङ्गठनलाई पार्टीको निर्णयअनुसार क्रान्तिकारी लाइनमा लैजाने भूमिका खेल्दछन् । जनसङ्गठन पार्टी सङ्गठन होइन । जनतालाई गोलबन्द गरी उनीहरूलाई क्रान्तिकारी दिशामा लैजानु जनसङ्गठनको भूमिका हुन्छ । यसलाई क्रान्तिकारी दिशा दिने काम यसमा काम गर्ने पार्टीसदस्यको हुन्छ । त्यसैले मोर्चा वा जनसङ्गठनमा पार्टीबाहिरका सदस्य, जो जनसङ्गठनका सदस्यसमेत हुन्छन्, उनीहरूलाई सर्वहारा वर्गको पार्टी कम्युनिस्ट पार्टीको राजनीतिक लाइनलाई समर्थन र सहयोग गर्ने भूमिका त्यहाँ काम गर्ने पार्टी सदस्यको हुन्छ । देशको राजनैतिक स्थितिअनुसार कहिले यो खुल्ला हुन्छ, कहिले भूमिगत हुन्छ । यसअनुसार नै कम्युनिस्ट पार्टीले आफ्ना मोर्चा र जनवर्गीय सङ्गठनहरू सञ्चालन गरेको हुन्छ ।
४. सर्वहारा वर्गको नेतृत्वमा चल्ने सांस्कृतिक आन्दोलन : एक चुनौती
यसमा कुनै विवाद वा द्विविधा छैन कि सांस्कृतिक मोर्चाको नेतृत्व कम्युनिस्ट पार्टीले नै गर्दछ । त्यसैले त्यो मोर्चा कम्युनिस्ट पार्टीको एउटा सहायक सङ्गठन हो । कम्युनिस्ट पार्टीबिना सर्वहारावर्गीय सांस्कृतिक आन्दोलनको कल्पनासम्म गर्न सकिँदैन । त्यसैले सांस्कृतिक पात्रहरू कम्युनिस्ट पार्टी अधिनस्थ हुन्छन् । त्यसबाट स्वतन्त्रता खोज्ने वा व्यक्तिगत क्षमतालाई पार्टीभन्दा माथि ठान्ने चिन्तन सर्वहारावर्गीय होइन । सर्वहारा वर्गको कुनै निजी सम्पत्ति, चिन्तन भन्ने हुँदैन । उसको निजी भन्ने चिज श्रम मात्र हो । उसले श्रमबजारमा आफ्नो श्रम बेचेर निर्वाह गर्दछ तर सर्वहारावर्गीय मान्यतालाई मदत नपुर्याउने उपरी तहको चिन्तनमा “सर्वहारा वर्गीय दृष्टिकोण छ” भन्दैमा सर्वहारा दृष्टिकोण भएको भनेर भन्न सकिँदैन । भौतिक रूपमा निजी सम्पत्ति नभए पनि चिन्तनमा पुँजीवादी छ भने त्यो सर्वहारा हुँदैन, जसलाई निम्नपुँजीवादी चिन्तन भनी विश्लेषण गरिएको हुन्छ । साहित्य, गीत, कला, सङ्गीत रचना गर्दैमा वा जनताका बिच गीत गाउँदैमा ऊ सर्वहारा हुँदैन । उसको विश्वदृष्टिकोण सर्वहारा हुनुपर्दछ र त्यहीअनुसार व्यवहारमा नै सर्वहारा दृष्टिकोण हुनुपर्दछ ।
आज सांस्कृतिक फाँटमा सर्वहारा वर्गीय दृष्टिकोण र व्यवहारमा स्पष्टताको जरुरी छ । कम्युनिस्ट पार्टीबाट अलग रहेर, उसको लेनिनवादी सङ्गठनात्मक सिद्धान्तबाट पर गएर कम्युनिस्ट पार्टीको अनुशासनमा नरहने कुनै पनि साहित्य सांस्कृतिककर्मीले सर्वहारा वर्गको क्रान्तिकारी जिम्मेवारी पूरा गर्न सक्दैनन् । वास्तवमा यस प्रकारको चुनौती विश्व सांस्कृतिक आन्दोलनमा रहँदै आएको छ । चीनमा माओको नेतृत्वमा स्थापना भएको समाजवादी राज्य र पार्टीभित्र पुँजीपतिहरूले पार्टी र सरकारको हेडक्वार्टर नै कब्जा गरे । त्यसैले माओले महान् सर्वहारा सांस्कृतिक आन्दोलन चलाउनुपर्यो । सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउन कम्युनिस्ट पार्टीको नेतृत्वमा लेनिनवादी सङ्गठनात्मक पद्धतिलाई कार्यान्वयन गरेर मात्रै सांस्कृतिक मोर्चा अगाडि बढ्न सक्छ भन्ने कुरा चीनको महान् सर्वहारा सांस्कृतिक क्रान्तिले पुष्टि गरिसकेको छ ।
२०७६ जेठ ३ (रक्तिम अभियान) मा प्रकाशित

