काठमाडौँ । काठमाडौँभित्रबाट उपत्यकाबाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जिप तथा माइक्रोबस आज २०८० असार १ गते शुक्रबारदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन् ।
काठमाडौँ महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका गत जेठ १९ गते सूचना जारी गरी असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दुरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयको कार्यान्वयन गर्दै असार १ गतेदेखि जिप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका हुन् ।
काठमाडौँभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायत क्षेत्रमा काउन्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस पनि असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन् ।
महानगरले शुक्रबार बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थित रूपमा सञ्चालित टिकट काउन्टर हटाएको छ । कामपाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गोङ्गबु, कलङ्की क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका टिकट काउन्टर हटाइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार महानगरको निर्णय कार्यान्वयन भएसँगै दैनिक रूपमा उपत्यकाबाहिर सञ्चालित करिब दुई हजार सार्वजनिक यातायात बसपार्कभित्रबाट सञ्चालन हुने छन् । “माइक्रोबस तथा जिपलाई सञ्चालन गर्नका लागि लोत्से मलपछाडि पार्किङ र काउन्टरको व्यवस्था गरिएको छ” प्रहरी प्रमुख पाण्डेले भन्नुभयो ।
नयाँ बसपार्कभित्रबाट यातायात सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ टिकट काउन्टर निर्माणलाई तीव्रता दिएको छ ।
माइक्रोबस तथा जिप समन्वय समितिका संयोजक राजेन्द्र आचार्यले नयाँ बसपार्कभित्रबाट सार्वजनिक यातायात सञ्चालन गर्न समिति लागिरहेको बताउनुभयो । “कामपाले असार १ गतेदेखि लागु हुने गरी लामो, मध्यम तथा छोटो दुरीका सार्वजनिक सवारी साधन नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरेकाले उक्त निर्णयको कार्यान्वयनमा लागेका छौँ” उहाँले भन्नुभयो ।
यसअघि नयाँ बसपार्कबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा वालिङ, बुटवल, भैरहवालगायत ठाउँका लागि ठुला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए ।
त्यस्तै, कोटेश्वरबाट विपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र बल्खुबाट हेटौँडा चल्ने टाटासुमो सञ्चालन हुँदै आएका थिए ।