काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घले एक किशोरीलाई बन्धक बनाएर चार दिनसम्म बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
टोखास्थित एक घरको फ्ल्याट भाडामा लिएर बस्दै आएका घलेले ति किशोरीलाई माघ २७ देखि फागुन १ गतेसम्म बन्धक बनाएर बलात्कार गरेको प्रहरीले जनाएको छ । घलेलाई १ गते नै प्रहरीले पक्राउ गरेको जनाएको छ ।
सिन्धुलीबाट काठमाडौं आउने क्रममा काभ्रेको बनेपामा बस पर्खिरहेकी ति किशोरीलाई घलेले मोटरसाइकलमा लिफ्ट दिएर गन्तव्यमा पुग्न नदिई आफ्नो टोखास्थित फ्ल्याटमा ल्याएका थिए ।
फ्ल्याटमा एक्लै बस्दै आएका घलेका परिवार अमेरिका बस्छन् । १२ कक्षा पढेकी ति किशोरीलाई अमेरिका पठाइदिने भन्दै प्रलोभन दिएर पटक पटक बलात्कार गरेको खुलेको छ । उनलाई अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।