काठमाडौँ । नेपालमा यस वर्षको मनसुन २०८० जेठ ३१ गते बुधबारदेखि भित्रिएको छ ।
नेपालमा मनसुन भित्रिने सरदर समय जुन १३ तारिख भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला (जुन १४) मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जेठ १३ गते बुधबार नेपाल भित्रिएको मनसुन कोशी, पूर्वी मधेस, बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागसम्म पुगेको मौषमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालका अन्य भूभागमा भने केही दिनमा क्रमिक रूपमा मनसुन फैलिँदै जाने छ ।
यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले यसअघि नै गरिसकेको छ यद्यपि यो सम्भावना स्थानपिच्छे फरक फरक हुने जनाइएको छ ।
यसअघि गत दुई वर्ष लगातार औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण विभागले गरेको थियो । गत वर्ष भने औसतमै वर्षा भएको थियो । नेपालमा जुन, जुलाई, अगस्त र सेप्टेम्बर चार महिनालाई मनसुनको अवधि मान्ने गरिएको मौषमविद् प्रधानाङ्गले बताउनुभयो ।
यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजारभन्दा धेरै नागरिक प्रभावित हुने अनुमान गरिएको छ । बिपत् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दुई लाख ८६ हजारभन्दा बढी घरपरिवारलाई यस वर्षको मनसुनले असर गर्न सक्ने सम्भावना छ ।
पछिल्लो २४ घण्टामा लमजुङको खदिबजारमा सबैभन्दा बढी एक सय ३५ दशमलव दुई मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ ।
त्यसैगरी बुधबार काठमाडौँमा ३९ दशमलव पाँच मिलिमिटर पानी परेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।