खिमराज चालिसे, चंडिगढ ।
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. ७ बस्ने हेमराज पौडेलको छोरा वर्ष ३२ को पवन पौडेल सिद्धार्थनगर नगरपालिकाको बुद्धचोकबाट बेपत्ता भएका छन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड भूमही शाखामा कार्यरत पौडेल जेठ १२ गते (२६ मई) देखि सम्पर्कविहीन भएका हुन् । खोजतलासका दौरानमा उनी सुनौली नाकाबाट भारतीय बसमा चढी चंडिगढ हिँडेको थाह भएको छ ।
सोही आधारमा उनको खोजतलासका लागि बुबा हेमराज पौडेल, दिदी पुनम पौडेल, भिनाजु सन्तोष भन्डारी र माबलीभाइ अगस्त पान्डे भारतको चंडिगढ पुगेका छन्।
चंडिगढमा सेक्टर ४३ बसपार्कका सिसिटीभी फुटेज जाँच गर्दा २७ मई बिहान १०ः३५ बजे पवन चंडिगढ बसपार्क अगाडि देखिएका थिए।
त्यसपछि परिवारले हिमांचल र चंडिगढका विभिन्न स्थानमा निकै खोजतलास गरेपनि उनी हालसम्म सम्पर्कमा नआएकोले खोज तलासमा सहयोग गरिदिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई बुबा हेमराज पौडेलले अनुरोध गरेका छन्।
घरको एउटा मात्र छोरा लापत्ता भएपछि आहात बनेका बुबाले गहभरी आसु झार्दै मिडियामा समेत दुखेसो पोखेका छन्।
उनी भेटिएमा नेपालमा हेमराज पौडेल +९७७–९८५७०३५५८७ वा भारतमा नजिकको मूल प्रवाहको कार्यालय अथवा संचारकर्मी खिमराज चालिसे +९१८९६८५०३०५०, परशुराम शर्मा +९१९८७८५४६२३ मा खबर गरिदिनुहुन अनुरोध गरिएको छ ।

