काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले बागलुङ जिल्लालाई सौतेलो व्यवहार गरेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि अर्थमन्त्रीले दिएको स्पष्टीकरणमाथि प्रश्न राख्दै केसीले बागलुङ जिल्ला पनि नेपालमै पर्छ भन्ने हेक्का राख्न आग्रह गर्नुभयो ।
केसीले भन्नुभयो, ‘बागलुङ जिल्ला पनि नेपालभित्रै पर्छ जस्तो मलाई लाग्छ । त्यहाँको बजेट हेर्दाखेरी अत्यन्त सौतेलो व्यवहार गरियो ।’
केसीले प्रवासी नेपालीलाई मतदानको व्यवस्थाका लागि बजेट नछुट्याएकोप्रति पनि प्रश्न उठाउनुभयो ।
‘प्रवासी नेपालीहरुले पठाएको रेमिट्यान्सबाट हामी यहाँ लकेट लगाएर हिँड्ने, पटक पटक उनीहरुलाई निर्वाचनमा भाग लिनुपर्छ भनेर सरकारले कुरा गर्दै आउँछ, तर बजेट त अहिले पनि छुट्टिएन । मैले अर्थमन्त्रीजइुलाई त्यो सोधेको थिएँ । त्यसको त जवाफै आएन’ केसीले भन्नुभयो, ‘माछा मिठा– काँडा तिता होइन, प्रवासीहरुले बगाएको पसिनाबाट हामी यहाँ माननीय भएर ढल्केर हिँड्नुपर्ने, उनीहरुलाई मतदान गर्न दिन बजेट व्यवस्था गर्नुपर्दैन ? त्यसको जवाफ आएको खोई ?’