दिनेश रैदास, दाङ ।
दाङको राजपुर गाउँपालिका– ५ महतेनी खोलामा आगलागी हुँदा टेकबहादुर बुढाको घर जलेर नष्ट भएका छ । आगलागीबाट घरमा रहेको सम्पूर्ण धनमाल जलेर खरानी भएको पीडितले बताएका छन् ।
आगलागीबाट खरको छाना भएको दुई तले घर, उक्त घरमा भएको गास, बास, लत्ताकपडाका साथै धान दुई क्विन्टल, चामल दुई क्विन्टल, गहुँ चार क्विन्टल, तोरी एक क्विन्टल, मसुरो ५० केजी, बेसार तीन किलो, ३४ हजार नगद गरी दुई लाख पचास हजार र घर पाँच लाख पचास हजार गरी जम्मा आठ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी गराएको छ ।
साथै आगलागीबाट नेपाली नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, विद्यार्थीका मार्कसिटलगायत कागजात जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
अन्दाजी राती ११ बजे भएको सो आगलागीबाट घरका साथै बाख्राको खोर पनि जलेर नष्ट भएको छ । बाख्रा भने अन्यत्रै बाँधिएको कारण पशुचौपाया क्षति नभएको हो ।
आगलागी समयमा माथिल्लो तल्लामा सुतेका नाबालक छोराहरू एक्कासि चिच्याएपछि आमाले थाहा पाई नजिकै घर भएकी देउरनीलाई खबर गरी झन्डै २ बजेतिर आगो नियन्त्रणमा आएको थियो । टेकबहादुर बुढा भने मजदुरी गर्न मनाङ जिल्लामा रहेका छन् ।
घटना थाहा भएपछि प्रहरीचौकी चङ्गुवाका महावीर चौधरीको नेतृत्वको टोली एकाबिहानै त्यहाँ पुगेको थियो ।
त्यसैगरी, राजपुर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष टङ्कबहादुर विष्ट, स्थानीय समाजसेवी कुलराज गिरी, लक्ष्मिप्रसाद बुढा, जसबहादुर घर्ति र सञ्चारकर्मी महेश रिजाल एकबिहानै घटनास्थल पुग्नुभएको थियो ।
अहिले पीडितका परिवार दुई छोरा र श्रीमती कान्छा भाई रेकबहादुर बुढाको आश्रयमा रहेका छन् ।
