बैतडी बजार । बैतडीका स्थानीय तहले वैदेसिक रोजगारीमा जान चाहने नागरिकलाई श्रमस्वीकृति दिन सुरु गरेका छन् ।
यहाँका दस स्थानीय तहमध्ये पाटन र दसरथचन्द नगरपालिकाले श्रमस्वीकृति दिन सुरु गरेका हुन् ।
यसअघि श्रममन्त्रालयबाट मात्रै दिइने गरेको श्रमस्वीकृति अब स्थानीय तहबाट पनि प्रदान गर्न सकिने भएपछि दुई पालिकाले श्रमस्वीकृति दिन थालेका हुन् ।
सरकारको गत चैत १६ गतेको निर्णयअनुसार वैशाख १ गतेदेखि लागु हुने गरी स्थानीय तहले नै रोजगार शाखामार्फत श्रमस्वीकृति दिन सक्ने निर्णय गरेको थियो ।
सोही निर्णयको आधारमा पाटन नगरपालिकाले श्रमस्वीकृति दिन थालेको नगरप्रमुख गौरीसिंह रावलले जानकारी दिनुभयो ।
बैदेसिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन स्थानीय तहबाट श्रमस्वीकृति दिने कार्य महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।
पाटन नगरपालिकाबाट श्रमस्वीकृति लिने पहिलो व्यक्ति मलेसिया जान लागेका वडा नं. ६ का नवीन विक रहेका छन् ।
नगरपालिकामै श्रम स्वीकृति पाएपछि निकै सहजता भएको उहाँले बताउनुभयो । बिना कुनै झन्झट कम खर्चमा घरदैलोबाटै काम भएपछि खुसी लागेको उहाँको भनाइ छ ।
यसअघि दसरथचन्द नगरपालिकाले गत वैशाख अन्तिम साताबाट श्रम स्वीकृत दिन थालेको थियो । (रासस)