बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइएमई समूहको लगानीमा निर्मित लुम्बिनी केबलकारको उद्घाटन गर्नुभएको छ ।
उहाँले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेसनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक थालनी र्नुभएको हो ।
बुटवल उपमहानगरपालिका–३ गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरसम्म करिब तीन किलोमिटर दुरीको सो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो ।
लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वरपिपल, ढुङ्गेधारा, पोखरी आदि संरचनाले भरिपूर्ण एउटा धार्मिक तथा उत्कृष्ट पर्यटकीय गन्तब्य बनेको छ ।
यसअघि यही जेठ १५ गते कामाख्या मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पूजाआराधना सुरु गरिएको थियो ।
सप्ताहव्यापी पूजा आराधनामा भारत गुवाहटी र नेपालका ११ पण्डितले धार्मिक प्रवचन दिनुभएको थियो । वसन्तपुरमा भारतको गुवाहटीमा रहेको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनेको छ ।
यसअगाडि केबलकार सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ ।
सम्झौताअनुसार लुम्बिनी केबलकार प्रालिले प्रतिटिकट शुल्कको दुई प्रतिशत रकम ती दुई पालिकाका लागि छुट्याउने छ ।
आइएमई समूहले सञ्चालनमा ल्याएको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समूहले काठमाडौँको चन्द्रागिरी र हालै नवलपुरको गँैडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ ।
रुपन्देही र पाल्पा जिल्ला जोड्ने यस पर्यटकीय पूर्वाधारले रुपन्देही, पाल्पा, नवपरासी र कपिलवस्तु जिल्ला र समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रूपान्तरणमा टेवा पुर्याउने विश्वास गरिइएको छ ।
सो आई।एम।ई। लिमिटेडका अध्यक्ष ढकालले उहाँले केबलकार धार्मिक पर्यटन सर्किट निर्माणको नयाँ अभियानको पनि घोषणा गर्नुभयो । यस सर्किटअन्तर्गत बुटवलको लुम्बिनी केबलकारबाट धार्मिक यात्रा सुरु गयौँ भने यही बाटो हुँदै मौलाकाली, मुक्तिनाथ, मनकामना, चन्द्रागिरि, कालिञ्चोक हुँदै पाथिभरासम्म पुग्न सकिने अवस्था सिर्जना गर्न सकिने जानकारी दिनुभयो ।
लुम्बिनी केबलकार र रिसोर्टसहितको आयोजनाको कुल लागत करिब रु पाँच अर्ब छ । पहिलो चरणमा केबलकारमा रु डेढ अर्ब लगानी भएको छ । टप स्टेसनमा पर्यटकका लागि रेस्टुरेन्ट बनिसकेका छन् भने होटल, बालउद्यान, स्काइवाक, जिपलाइन निर्माणका क्रममा छन् । मोनोकेवल डिट्याचेबल सिस्टमका २५ गोन्डोला रहेको केबलकारले दैनिक छ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ ।
बटमस्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाइमा रहेको जनाइएको छ । बटनस्टेसनबाट १० मिनेटको यात्रामै टपस्टेसनमा पुग्न सकिन्छ ।
केबलकार सञ्चालनमा आएसँगै टपस्टेसनमा रु साढे तीन अर्ब लागतमा पाँचतारे होटललगायत संरचना निर्माण हुनेछन् ।