काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कृषिप्रधान देश नेपालमा खुर्सानीसमेत विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।
२०८० जेठ २४ गते बुधबार संसद् बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै केसीले देशमा उद्योगधन्दा खोलेर उत्पादन गर्नुभन्दा नेता उत्पादन गर्ने गरिएको बताउनुभयो ।
लसुन, प्याज, खुर्सानीसम्मको बजार बनाउन नसकेको सरकारले बरु निजी व्यापारीलाई जिम्मा लगाएर कर उठाइरहेको उहाँले बताउनुभयो ।
‘लसुन, प्याज, खुर्सानी यस्ता चिजमा पनि सरकारले ट्याक्स लगाएको छ, हिमाल, पहाड, तराईं सबै ठाउँ हुन्छ नि यो त’ उहाँले भन्नुभयो– ‘अहिलेसम्म विकास गरेको भनेको नेता उत्पादन गर्यौँ । धेरै ठाउँमा संसद्, मन्त्री बनायौँ, मन्त्रीको सङ्ख्या बढायौँ यति मात्रै हो कि नाइँ, छातीमा हात राखेर भनौँ त ।’
नेता उत्पादनबाहेक नेपालले केही विकास गर्न नसकेको उहाँको भनाइ थियो। उहाँले सङ्घीयता खारेज गर्नुपर्ने बताउनुभयो ।
केसीले निजीकरणको नाममा देशका कलकारखाना बेचिएको बताउनुभयो । पञ्चायतकालमा बनेका कलकारखानासमेत लोकतन्त्रपछि बन्द गराइएको र व्यापारीलाई जिम्मा लगाइएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘निरङ्कुश भनिएको पञ्चायतमा लोकतन्त्र थिएन, उद्योग कलकाखाना त थिए नि ।’
उद्योगधन्दालाई निजीकरण गरेर शिक्षादेखि उद्योगसम्म व्यापारी र साहुमहाजनलाई जिम्मा लगाइएको उहाँको भनाइ थियो ।
स्वदेशमा बस्न सक्ने वातावरण सरकारले बनाउन नसक्दा दैनिक हजारौँ युुवाहरू विदेश पलायन हुने गरेको केसीले बताउनुभयो ।
‘मुलुकका उद्योगधन्दा साहुमहाजनलाई जिम्मा लगाएर दक्ष युवा जनशक्ति पलायनको बाटोमा अघि बढाउने कार्य यही राज्यव्यवस्थाले गरिरहेको छ’ उहाँले भन्नुभयो– ‘स्वदेशमा बसेर केही काम छैन भन्ने भाष्य खडा गरेर सानैदेखि तयार पारेर आफ्ना सन्तानलाई युरोप, अमेरिका पठाइएको छ ।’
केसीले थप्नुभयो– ‘जुन देशमा दिनका २ हजार २५ सय जुन देशका नागरिक बिदेसिन्छन् । हामीले ल्याएको बजेटको के अर्थ भयो ?’