नेपालगञ्ज । राष्ट्रपतिद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयक विरुद्ध राष्ट्रिय जनमोर्चा बाँकेले कोहलपुरमा विरोध प्रदर्शन गरेको छ ।
बिहीबार आयोजित विरोध सभालाई सम्बोधन गर्ने नेताहरुले नयाँ नागकिरता ऐन बनेसँगै नेपाल सिक्किमीकरणको बाटोमा अघि बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार वासुदेव पोख्रेलले भन्नुभयो ‘अब देशका यिनै ठूला भनिएका र मधेशबादी दलहरूले चुनाव जित्दै शासन गर्दै जाने हो भने दश वर्षभित्र नेपालमा नेपालीहरु नै अल्पमतमा पर्ने छ ।’
राष्ट्रिय जनमोर्चा जस्तो रास्ट्रवादी शक्तिलाई पछी पार्ने गल्ती गरेको भन्दै उहाँले अहिलेको पुस्तालाई सन्ततिले सराप्ने बताउनुभयो ।

भारतले आफ्नो नवनिर्मित संसद भवनमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई आफ्नो नक्साभित्र देखाएकोमा कडा शब्दमा विरोध जनाउनुभयो।
पोख्रेलले अमेरिकी साम्राज्यवाद जहाँ घुस्यो त्यो देशलाई बर्बाद बानाउने गरेको उदाहरण दिँदै एमसीसी अमेरिकाले नेपालमा घुसाएको विषवृक्षको संज्ञा दिनुभयो । त्यसलाई हटाउन जनताको संघर्ष आवश्यक रहेको कुरामा जोड दिनुभयो ।
सभालाई सम्बोधन गर्दै अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष कृष्णराज पान्डेले नेपालको भूमि अखण्ड भारतको नक्साभित्र देखाएकोमा प्रश्न उठ्दा भारतले सांस्कृतिक नक्सा भनेको र भारतीय प्रधानमन्त्रीले नक्साको अनावरण गर्दा समेत नेपाली शासक केही नबोल्नु आपत्तिजनक भएको बताउनुभयो ।

उहाँले अगाडि भन्नुभयो, ‘अंग्रेजसँग नझुकेको नेपाल आजका शासकहरु भारतीय साम्राज्यवादसँग दलाली र चाकरी गरेका छन् ।’
भ्रष्टाचारीलाई जोगाउन प्रमुख ३ दल एक हुने गरेको तथा भ्रष्टाचारको बारेमा सांसदले उठाएको कुरा रेकर्डबाट हटाउने गरेको कुरा निन्दनीय भएको पाण्डेले बताउनु भयो ।
विरोधसभाको सञ्चालन राजमो बाँकेका उपाध्यक्ष जगदीश ढकालले गर्नुभएको थियो । कार्यक्रममा अखिल नेपाल किसान महासंघ (अफ्पा) का महासचिव तुलसीराम सापकोटा, राजमो बाँकेका अध्यक्ष भीमप्रसाद देवकोटा, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य पूर्णकला भण्डारी लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
- यस्तो छ, राष्ट्रपतिबाट प्रमाणीकरण भएको विवादित नागरिकता विधेयक (पूर्णपाठ)
- भारतलाई खुसी पार्न नागरिकता विधेयकमा सौदावाजी गरियो : राजमो