काठमाडौं । आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मा भ्रष्टाचारी ठहर भएका छन् । कर फर्छ्यौट आयोगमा कार्यरत रहेका बेला अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो ।
बिहीबार सुनुवाई गर्दै विशेष अदालतले तीनै जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई सजाय भने तोक्न बाँकी छ ।
विशेषले बिहीबार सहसचिव शर्मासहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।
उनीहरु तीनजनाविरुद्ध अख्तियारले १ अर्ब ३३ लाख रुपैयाँ बिगो र त्यसको दोब्बर बराबर जरिवाना मागदाबीसहित मुद्दा चलाएको थियो।
उक्त मुद्दामा शर्मासँगै कर फर्छ्यौट आयोगका अध्यक्ष महत र सदस्य ढकाल तथा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक शर्माविरुद्ध अख्तियारले तीन वर्षअघि मुद्दा दायर गरेको थियो।
उनीहरुले बदनियतपूर्वक १० अर्ब रुपैयाँभन्दा बढी रकम अनधिकृत रुपमा कर छुट तथा मिनाहा गरी गैरकानुनीरुपमा सरकारलाई नोक्सानी पुर्याएको आरोप थियो।
तर विशेषले शर्मासहित तीनैजनालाई गैरकानुनी सम्पत्तिको मुद्दामा भने सफाइ दिएको छ। दोषी ठहर तीनैजनाको सजाय अब जेठ २५ गते निर्धारण गर्ने गरी पेशी तोकिएको विशेष अदालतले जनाएको छ।