काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेश खारेजीको पक्षमा उभिएको छ । संसदमा २१ सिट रहेको यो दलले ‘नयाँ युगको संकल्प’ नाम दिएर तयार पारेको पार्टीको दस्तावेजमा प्रदेश खारेजीलाई जोड दिइएको छ ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने प्रस्तावसहित दस्तावेजनमा देशभक्त, प्राज्ञिक श्रमजीवी वर्गको राजनीतिक ध्रुव बनाउनेसहित पार्टीका कार्यदिशा सातवटा तय गरिएको छ। यस्तै उत्पादनकेन्द्रित पार्टी सदस्य बनाउने र नेपाली उत्पादन प्रयोग गर्ने कुरा पनि दस्तावेजमा समेटिएको छ।
रास्वपा गठन भएको ११ महिनापछि पार्टीको दस्तावेज तयार पारिएको हो। २०७९ असार ७ गते गठित रास्वपाले गत मंसिर ४ को चुनावमा वाचापत्र मात्र अघि सारेको थियो।
रास्वपा दस्तावेजमा मतबाटै क्रान्ति गर्ने, निर्वाचन उपयोग गर्ने, प्रभावकारी र सुसज्जित राजनीतिक अभ्यास गर्ने भनिएको छ।
संवैधानिक समाजवाद, संविधानवादको सूचकबारे व्याख्या गरिएको दस्तावेजमा नेपालको इतिहासबारे चर्चा गरिएको छ।
७० पृष्ठको यो प्रस्तावित ड्राफ्टलाई पार्टीका प्रदेश प्रमुख र केन्द्रीय समितिमा छलफल गराएर पास गरी लागू गराउने प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
रास्वपाले देशव्यापी संगठन विस्तार अभियान जारी राखेको छ।