पोखरा । पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ । गणतन्त्र दिवसको अवसर पारेर आज (जेठ १५ गते)देखि मन्दिर खुला गरिएको हो ।
राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा ‘रत्नमन्दिर’ बनाएका थिए। राजसंस्थाको अन्त्यपछि विसं २०६४ मा नेपाल ट्रस्टको स्वामित्वमा आएसँगै उक्त दरबार हालसम्म बन्द थियो ।
यो दरबार पोखरा महानगरपालिका–६ फेवाताल किनारमा अवस्थित छ। रत्न मन्दिर विसं २०१३ मा निर्माण आरम्भ भएर विसं २०१५ निर्माण सम्पन्न भएको थियो।
पोखरा आउँदा ठाउँ मन परेपछि पूर्वराजा महेन्द्रले सो दरबार बनाएका थिए। राजा महेन्द्रले रानी रत्नलाई दिएको उपहारका रुपमासमेत रत्न मन्दिरलाई लिने गरिन्छ।
प्राकृतिक सौन्दर्यका दृष्टिले पनि रत्न मन्दिर र वरपरको वातावरण मनमोहक छ। तीनतले दरबारमा ११ कोठा छन्। भुइँतलामा अतिथि कक्ष, भोजनालय, राजाका सुरक्षा अधिकृत (एडीसी) बस्ने कोठा र आराम कक्ष छन्।