काठमाडौं । सरकारले रेशमलाल चौधरीलगायतका कैदीहरुलाई गणतन्त्र दिवसका अवसरमा सजाय माफीका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आईतवार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । मन्त्रीपरिषद्ले ५० प्रतिशत सजाय कटाइ सजाय माफी मिनाहाको निवेदन दिएका रेशमलाल चौधरी लगायतका कैदीहरुलाई गणतन्त्र दिवसका अवसरमा सजाय माफी मिनाहाका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनु भयो ।
उहाँका अनुसार बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा (महिलातर्फ) लमजुङ निवासी अनिता ढुंगानालाई नियुक्त गर्ने, क्यानडामा २०८० भदौ ५ गतेदेखि ९ गतेसम्म आयोजना हुने विश्व वातवारण सुविधाको ७ औं सभा तथा सम्बन्धित बैठकहरुमा अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुन स्वीकृति प्रदान गर्ने, सिन्धुलीमाडी–भूमेस्थान–चकमके–उदयपुर कटारी सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
त्यस्तै बैठकले मध्य तमोर जलविद्युत आयोजनाको प्रशारण लाइनको निर्माणका लागि ताप्लेजुङ जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो जग्गामा रहेका रुखहरु हटाउन स्वीकृति दिने निर्णय गरेको छ । बैठकले लंखुवाखोला साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरु निर्माण गर्न संखुवासभा जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो वन क्षेत्रमा रहेका रुख हटाउने स्वीकृति दिने निर्णय गरेको पनि मन्त्री शर्माले बताउनु भयो ।
मन्त्री शर्माले जेठ १२ गते शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने, तनहुँ जलविद्युत आयोजना, उर्जा प्रणाली बिस्तार आयोजना, ग्रीड विकास आयोजना र नेपाल वितरण प्रणाली स्तरोन्नति तथा बिस्तार आयोजनाका (लिवर) सन्दर्भ दर अनुसार ब्याजदर निर्धारण गर्ने व्यवस्थाको सट्टा फरवार्ड लुकिङ टर्मका आधारमा ब्याजदर निर्धारण गर्ने गरी वित्तीय सम्झौता संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले २०८० जेठ ३०–३२ मा भारतको कलकत्तामा आयोजना हुने विमस्टेक ब्यापार सम्मेलनमा सहभागिताका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको भ्रमण स्वीकृत गर्ने, विमस्टेक भविष्यको कार्यदिशाका लागि प्रवुद्ध व्यक्तिहरुको समूहमा नेपालका तर्फबाट पूर्व परराष्ट्र सचिव तथा संयुक्त राष्ट्रसंघका लागि पूर्व राजदूत/स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई मनोनयन गरी पठाउन परराष्ट्र मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने ।
रासायनिक पदार्थको सुरक्षित प्रयोग, नियमन तथा जोखिम व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत प्रदान गर्ने, काठमाडौं कीर्तिपुर नगरपालिका ७ निवासी उपेश महर्जनलाई गोरखापत्र संस्थानको सम्पादक सल्लाहकार २ (दुई) वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको छ ।