सावित्रा रेग्मी ##
नेपाल तीन करोड जनसङ्ख्या भएको कृषिप्रधान देश हो । नेपाललाई प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको देश भन्न सकिन्छ । हिमालबाट हिउँ पग्लेर पहाड, तराई हुँदै बग्ने र स्वच्छ हावापानी तथा सगरमाथाको शिखर भएको देश हो नेपाल ।
यति हुँदा पनि यस्तो देश अर्धसामन्ती र और्धऔपनिवेशिक अवस्थाबाट मुक्त हुन सकेको छैन । राजनैतिक, सामाजिक, आर्थिक सांस्कृतिक, कानुनी, प्रशासनिक तबरबाट नेपालमाथि विदेशी हस्तक्षेप भइरहेको छ ।
यो देशको प्रशासन, सैनिक र सत्तासिनलाई आर्थिक चङ्गुलमा फसाउँदै कानुन, प्रशासनलाई विदेशीले आफ्नो पक्षमा पार्दै आइरहेका छन् । ठुला ठुला उद्योग; जस्तै : हेटौँडा कपडा उद्योग, भृकुटी कागज कारखाना, बासबारी छालाजुत्ता उद्योग, बन्द छन् । त्यसका साथै कैयौँलाई सस्तोमा विक्री गरिएका छन् ।
देशमा भएका सबै नदिनाला यो देशका शासक वर्गले भारतलाई विक्री गरेका छन् । त्यसले गर्दा नदीमा बाध बाँधेर जमिनमा सिँचाई गर्न पाइँदैन । कृषियोग्य जमिनमा आकाशे पानीको भरमा खेती गर्न किसान बाध्य भएका छन् ।
विदेशीको आर्थिक चङ्गुलमा फसेर नागरिकता विधेयकमार्फत् नागरिकता नै खुकुलो पारी लाखौँ विदेशीलाई नागरिकता वितरण गरिएको छ । यसबाट जन्मेका सन्तानलाई वंशजको अधिकार दिने कुरामा सरकार पक्ष सहमत भएका हुन् । यसरी विदेशीलाई वंशजको नागरिकता दिँदा विदेशीहरू नै नेपालका प्रधानमन्त्री, राष्ट्रपति, सेनाप्रमुख, प्रधानन्यायाधीस बन्न पुग्दछन् र नेपाल विदेशीको पूर्ण नियन्त्रमा हुन पुग्दछ ।
यिनै शासक वर्गको मातहतमा खेतियोग्य जमिनलाई टुक्रा टुक्रा पारी प्लटिङमा परिणत पारिएको छ । खेतियोग्य जमिनमाथि गिटी, बालुवा र सिमेन्टले छापिएको छ ।
नेपालको पूर्वपश्चिम र दक्षिण तीनतिरबाट भारतीय सीमाले घेरिएको छ । नेपाल र भारतको सिमानामा सीमास्तम्भ गाडिएका छन् । यी स्तम्भहरू रातारात भारतले सारेर नेपालको हजारौँ बिगाह जमिन अतिक्रमण गर्दै आइरहेको छ । त्यसभित्र पर्ने नेपाली जनताको उठिवास भइरहेको छ तर सरकार यसको विरोधमा बोल्दै बोल्दैन । नेपालमा विदेशीको हस्तक्षेपका कारण प्रशासनमा काम गर्ने कर्मचारीबाट नेपालको हितको विपरीत विदेशीको हितमा नै काम गरिरहेका छन् ।
पशुपति मन्दिरको प्रमुख पुजारी भारतीय नागरिक छन् । पशुपतिमा चढाइएको अर्बौंको भेटी नेपाल सरकारले छुन पनि पाउँदैन, भारतकै नियन्त्रणमा चलिरहेको छ ।
नेपालका नागरिकलाई विदेशीले चारैतर्फबाट दमनचक्रमा पारिरहेको छ । त्यति मात्र नभएर तलदेखि माथिसम्म सेटिङ मिलाएर माथिल्लो निकायको समन्वयमा सत्ता सञ्चालन गर्ने शासकले नै सरकार कब्जा गरेर सङ्गठित भ्रष्टाचार गरी देशको अन्तर्राष्ट्रिय स्तरमा समेत बेइज्जत गराएका छन् । प्रतिव्यक्ति १० लाखदेखि ५० लाखसम्म रकम लिई नेपाली नागरिकलाई अमेरिकामा नक्कली भुटानी शरणार्थीको कागज तयार पारेर हजारौँ नेपालीलाई बेच्ने प्रयास गरिएको छ । देशभित्र भएको अरू दलालले पनि सबै भन्सारमा सेटिङ मिलाई धेरै देशमा नेपालीलाई बिक्री गरिएको छ ।
दलालको सेटिङमा शासक वर्गले दक्ष जनशक्तिलाई विभिन्न राष्ट्रमा निर्यात गर्ने गरेका छन् । यसरी पठाउँदा पनि कमिसनको कुम्लो सोहोर्छन् । युवा दक्ष र पढेलेखेका जनशक्ति र श्रमिक वर्गलाई रित्याएर देश खाली गरी राष्ट्रिय आम्दानीलाई जोड नदिई रेमिट्यान्सको भरमा देश चलाउँदै आएका सरकार अहिले आएर असफल राष्ट्र बनाउने दिशामा अग्रसर भइरहेको छ ।
आन्तरिक रूपमा नेपालमा आम्दानीको क्षेत्रलाई पनि ध्वस्त पारिएको छ । सबै सामानहरू नुन, तेल, चामल, औषधी, गुड्ने साधन, लत्ताकपडा, फलफूल, तरकारी, उद्योगलाई चाहिने सामान समग्र रूपमा विदेशी उत्पादनमा भर पर्नुपर्ने बनाइएको छ । सत्तामा बस्ने शासकले नेपाललाई बैदेसिक मजदुर उत्पादन गर्ने राष्ट्रको रूपमा परिणत गरिएको छ ।
किसानलाई चारैतर्फबाट सरकारले नै असहयोग गरेर अर्थात् निमोठेर मर्नु र बाँच्नुको स्थितिमा पुर्याएको छ । नेपालमाथि यसरी बैदेसिक हस्तक्षेप र देशका शासकवर्गले विदेशी शासकको डिलमा नै काम गरिरहेकाले आज नेपाल विदेशीको पन्जामा रहेको कुरा स्पष्ट छ ।
के हामी सबै नेपाली यस प्रकारको विदेशी हस्तक्षेप सहेरै बस्ने ?
अहिलेसम्मका शासक वर्गले विदेशीको पन्जाबाट नेपाल कसरी मुक्त हुने भन्नेतर्फ नलागेर विदेशीकै शरणमा शासन गरिरहेका छन् । यसका विरुद्ध व्यापक जनसङ्घर्षमा उत्रिएर नै विदेशी पन्जाबाट मुक्त शोषित, पीडित जनताको शासनव्यवस्था कायम गर्ने बाटोमा अगाडि बढ्नुपर्दछ ।