वीरेन्द्रनगर । राष्ट्रिय जनमोर्चा सुर्खेतको चौथो जिल्ला सम्मेलन अध्यक्षमा गोविन्द सुवेदीलाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ ।
राजमो केन्द्रीय सदस्य रत्नविक्रम रानाप्यासीको प्रमुख आतिथ्यमा २०८० जेठ १२ गते शुक्रबार जिल्ला सदरमुकाम वीरेन्द्रनगरमा सम्मेलन सम्पन्न भएको हा ।
सम्मेलनको उद्घाटन प्रमुख अतिथि रानाप्यासीले ब्यानर वाचन गरेर गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले देशको स्थिति नाजुक अवस्थामा पुगेको र यसको जिम्मेवार राज्य सञ्चालन गरिरहेका काङ्ग्रेस, एमाले, माओवादी र मधेसवादी दलहरू रहेको आरोप लगाउनुभयो ।
फरक प्रसङ्गमा उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाको नाम सार्वजनिक भए पनि १७ जना मात्रै प्रहरीको नियन्त्रण रहेको र अरू सबै फरार गराइएको हुँदा तत्काल नियन्त्रणमा लिई दोषीलाई कानुनको कठघरामा ल्याउन माग गर्नुभयो ।
उहाँले नक्कली भुटानी शरणार्थी प्रकरण अमेरिकाको दबाबपछि मात्रै अनुसन्धान सुरु भएको उनले जिकिरसमेत गर्नुभयो ।
सम्बोधनको क्रममा सुर्खेतमा पार्टीनिर्माण र विस्तारको इतिहासलाई स्मरण गर्दै केन्द्रीय सदस्य प्यासीले भन्नुभयो– ‘स्थापनाकालका दुई जना अग्रज साथीहरू आज हुनुहुन्छ । उहाँहरूको महत्त्वपूर्ण योगदानका कारण पार्टी यहाँसम्म आइपुगेको हो ।’
उद्घाटन समारोहमा नेकपा (मसाल) का जिल्ला प्रवक्ता मोहन थापा, जातीय समता समाजका उपाध्यक्ष शेरबहादुर परियार, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष जीवन शाही, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिव भानुभक्त भारती, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य हीरा विक, अखिल नेपाल जनजाति सम्मेलनका प्रेम गुरुङ र अखिल नेपाल महिला सङ्घकी पार्वती ठाडाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
२१ सदस्यीय जिल्ला समिति
सम्मेलनले गोविन्दप्रसाद सुवेदीको अध्यक्ष रहनुभएको १७ पूर्ण, ४ वैकल्पिक सदस्यसहितको २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा भूपेन्द्र नेपाली, सचिवमा विष्णुप्रसाद शर्मा, सहसचिवमा पदमसिंह विक र कोषाध्यक्षमा कृष्णाकुमारी रावल चयन हुनुभएको छ ।

त्यस्तै समितिको सदस्यहरूमा प्रेमबहादुर ठाडा, जितबहादुर घर्ती, हिरालाल नेपाली, पार्वती ठाडा, थममाया ठाडा, हेमराज शर्मा, मानबहादुर बडुवाल, धर्मराज लम्साल, थानेश्वर तिवारी र पूर्णबहादुर शाही रहनुभएको छ ।
त्यसैगरी, वैकल्पिक सदस्यहरूमा विष्णुबहादुर शाही, टेकबहादुर घर्ती र हरि परियार रहनुभएको छ ।
समितिमा पूर्ण सदस्य र वैकल्पिक सदस्यको एक/एक स्थान हाललाई रिक्त राखिएको छ ।
वरिष्ठ नेताहरू सम्मानित
सम्मेलनको उद्घाटन समारोहमा सुर्खेतको वामपन्थी आन्दोलनका संस्थापक नेता मोतिप्रसाद मिदुन र स्मृतिशेष जयकृष्ण सञ्ज्यालकी पत्नी जनपुरा सञ्ज्याललाई सम्मान गरिएको थियो । उहाँहरूलाई खादा ओढाएर सम्मान गरिएको हो ।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिनुभएको थियो ।