गौरिश्वर पाण्डे ##
वर्तमान समाज वर्गीय समाज हो । वर्गीय समाजमा सबै प्रकारका गतिविधि वर्गीय हुन्छन् । जनताका आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, यातायात, पिउने पानीलगायतका विषयमा वर्गीय स्वार्थ झल्किन्छ ।
स्वभावैले यो समाज हुनेखाने र हुँदाखाने वर्गमा विभाजित समाज हो । एउटा वर्ग श्रमजीवी छ भने अर्कोको पुँजीजीवी छ । जहिले पनि कामदार श्रमजीवी वर्गलाई पुँजीजीवी वर्गले दमन गरिरहन्छ । पुँजीजीवी वर्गले श्रमजीवी वर्गको काममा शोषण गरेर बाचिरहन्छ र उसले अकुत सम्पत्ति जम्मा गर्ने, राज्यको उच्च सेवासुविधा लिने, राज्यको स्रोत र साधनको दोहन गरेर सम्पति थुपार्ने काम गर्दछ भने श्रमजीवी वर्गले दिनमा १८ घण्टा काम गरेर हातमुख जोड्नुका साथै ओत लाग्न र शरीर ढाक्न धेरै गार्हो परिरहेको हुन्छ । यस्तो विभेदकारी समाजमा श्रमजीवी वर्गले आफ्नो वर्ग खुट्याएर उक्त वर्गसँगै आफ्नो मुक्तिका योजना बनाएर अगाडि बढ्नुपर्ने हुन्छ ।
पुँजीजीवी वर्गले जहिले पनि श्रमजीवी वर्गलाई दबाउने प्रयत्न गर्दछ । जबसम्म श्रमजीवी वर्गमा आफूमाथि अन्याय भएको कुरा थाहा पाएर त्यसको विरुद्ध सङ्गठित प्रकारले सङ्घर्षमा उत्रने चेतको विकास हुँदैन, त्यस बेलासम्म पुँजीजीवी वर्गले दमन गरिराख्छ ।
पुँजीजीवी वर्गको रक्षाको लागि राज्यसत्ताले राज्यबाट उठाएको करबाट तलब खाने गरी हतियारबन्द सेना, प्रहरीका साथै, कर्मचारी, वकिलका व्यवस्था गर्नुको साथै श्रमजीवी वर्गले अझै अटेर गरेपछि लगेर थुन्ने जेलनेलको समेत व्यवस्था गरेको हुन्छ । तसर्थ यो वर्गले सिलसिलेबार प्रकारले श्रमिकलाई दबाउन हरेक प्रकारले राज्यको संयन्त्र प्रयोग गरिरहेको हुन्छ ।
संसारभर शोषक र शोषितबिचका खाडल झन् झन् विकराल बन्दै गएका छन्। शोषक वर्गले आफ्ना शोषण गर्ने तौरतरिकालाई नयाँ प्रकारले व्यवस्थित गर्दै लगेको हुन्छ । त्यस क्रममा ऊ सम्पतिको मालिक बन्दै जान्छ भने अर्कोतर्फ, मजदुर वर्गका लागि भने दिनप्रतिदिन आफ्नो गुजारा चलाउन गार्हो अवस्था सृजना हुँदै जान्छ । त्यति मात्रै होइन, मजदुर वर्ग उत्पादनका साधनबाट पनि वञ्चित हुँदै जान्छ । विस्तारै विस्तारै सबै चिजबाट मजदुर वर्ग बञ्चित हुँदै जान्छ ।
मजदुर वर्ग यसबाट मुक्त हुने एउटा मात्र उपाय छ । त्यो हो : सर्वहारा वर्गको नेतृत्वमा मजदुरको एकता । कारखानामा काम गर्ने हजारौँ मजुदरको बिचमा सङ्गठन निर्माण गरी कम्युनिस्ट पार्टीको नेतृत्वमा आफूमाथि बाँधिएका पुँजीजीवीहरूको सिक्री चुडाई राज्यसत्ता आफूअनुकूल बनाउनका लागि मिलिट्यान्ट र अनुशासित कम्युनिस्ट पार्टीको नेतृत्वमा सङ्गठित शक्ति अत्यन्तै अनशासित भएर मात्र सम्भव हुन्छ ।
संसारभरिका जनताको शक्ति अजेय छ । जतासुकैका तानाशाहलाई पनि जनताको शक्ति, जनतामा विश्वास गरेर व्यवस्थित र सङ्गठित प्रकारले राज्य सञ्चालन गर्ने असफल प्रयास गरिरहेको पाइन्छ । तर त्यसो गर्नु उनीहरूका लागि सम्भव हुन्न । मजदुर वर्ग भने जनतालाई लिएर जनताकै लागि मुक्ति आन्दोलनतर्फ अगाडि बढ्नु आजको आवश्यकता हो ।
संसारभरिका पुँजीजीवीहरू हेर्दा जतिसुकै बलिया देखिए पनि आन्तरिक प्रकारले तिनीहरू दिनप्रतिदिन कमजोर बन्दै गइरहेका हुन्छन् । बाहिरी रूपमा जो जति धेरै शक्तिशाली देखिन्छ, आन्तरिक रूपमा त्यो त्यति नै कमजोर बन्दै गएको हुन्छ ।
नेपालको जस्तो देशमा कम्युनिट पार्टीको आधारभूत वर्ग किसान नै हुन् । तसर्थ हामीले हाम्रो समाजमा भएको प्रतिकृयावादी व्यवस्था खतम गरेर त्यसका ठाउँमा नयाँ जनवादी व्यवस्था स्थापना गर्नको लागि हाम्रा आधारभूत वर्ग किसानमाझ पुग्नुपर्दछ । उनीहरूको समस्या पहिचान गरी समाधानका उपायको विषयमा छलफल चलाउँदै व्यापक सङ्गठन निर्माणमा ध्यान दिनुपर्दछ ।
वर्तमान राज्यसत्ताले किसान–मजदुरमाथि गरेका गलत क्रियाकलापका विरुद्ध एकजुट भई आन्दोलनको आँधिबेहरी सृजना गर्नुपर्दछ । प्रतिकृयावादी राज्यसत्तालाई जनताको बलद्वारा ध्वस्त पारी जनताको जनवादी व्यवस्था स्थापना गर्नको लागि अन्तत: सशस्त्र सङ्घर्षको कार्यक्रम अगाडि सार्नुपर्दछ । यसरी नयाँ जनवादी क्रानितको आधार तयार पार्नु नै आज कम्युनिस्ट पार्टीको राजनीतिक आवश्यकता हो ।

