काठमाडौँ । राष्ट्रिय जनमोर्चाले टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई आममाफी दिन सरकारले थालेको प्रक्रिया रोक्न माग गरेको छ ।
अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० जेठ १२ गते शुक्रबार जारी प्रेसवक्तव्यमार्फत् पार्टीले यस्तो माग गरेको हो ।
वक्तव्यमा टीकापुर हत्याकाण्ड कुनै राजनीतिक घटना नभएकाले रेशम चौधरीलाई आममाफी दिने प्रक्रियाले देशमा दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने दाबी गरिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“सर्वोच्च अदालतले चर्चित “टीकापुर हत्याकाण्ड” का नाइके रेशम चौधरीलाई तोकेको सर्वस्वसहितको जन्मकैदलाई आममाफी दिने गरी वर्तमान प्रचण्ड नेतृत्वको सरकारले अगाडि बढाएको प्रक्रियाको हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले घोर विरोध तथा भत्र्सना गर्दछ ।
“टीकापुर हत्याकाण्ड” कुनै राजनीतिक नभएर आम नरसंहारको घटना थियो । त्यो घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आमाफी दिई कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदाबाजी मात्र हो ।
विगतमा सरकारले रवि लामिछानेको राहदानी प्रकरणमा राजनीतिक सौदाबाजी गरेर मुद्दा नचल्ने निर्णय गरेको थियो तर त्यो सौदाबाजी सरकारलाई कति महङ्गो भयो रु प्रष्ट छ । “टीकापुर हत्याकाण्ड” का नाइके वा संलग्नलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने छ, जसको परिणाम मुलुकमा कानुनको शासन नभएर अराजकता र दण्डहीनता मौलाउने छ । त्यसैले रेशम चौधरीलाई आममाफी दिनका लागि अगाडि बढाएको प्रक्रिया रोक्न सरकारसँग माग गर्दछौँ ।”





