काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईदेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसमेत मुछिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा ३० जनालाई प्रतिवादी बनाउन प्रहरीले राय दिएको छ। तीमध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन्।
जसमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायत छन् ।
प्रहरी स्रोतका अनुसार पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलसहित ५ जनाविरुद्ध पनि पूरक अभियोजन लैजान बाटो खुला गर्दै प्रहरीले प्रतिवेदन बुझाएको छ । स्रोतका अनुसार एमालेका उपाध्यक्ष बादल, उनकी पत्नी नैनकला थापा, पूर्वगृहसचिव एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई, एमालेका पूर्व प्रदेश सांसद अजयक्रान्ति शाक्य र एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको समेत नाम प्रतिवेदनमा उल्लेख गरिएको छ।
संलग्नता खुलेपनि बेचन झा, रमा थापा र गोकुल थापालाई अहिले नै प्रतिवादी बनाइएको छैन। उनीहरुविरुद्ध थप अनुसन्धान गरि पुरक अभियोग लैजाने तयारी छ ।
बादल गृहमन्त्री र प्रेम राई गृहसचिव हुँदा शरणार्थीको दीर्घकालीन व्यवस्थापन गर्न भन्दै कार्यदल गठन गरेका थिए । त्यतिबेलैदेखि बिचौलियाले रकम लिन चलखेल सुरु गरिसकेका थिए ।
यो मुद्दामा अहिलेसम्म १६ जना पक्राउ परेका छन्। नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई प्रहरीले हिरासतमा राखेको छ।
यसैगरी केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पनि प्रहरी हिरासतमा छन्। अरु १७ जना भने फरार छन्।
उनीहरुविरुद्ध प्रहरीले राज्यविरुद्धको कसुरसहित ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र सार्वजनिक पद धारण गरेकाको हकमा भ्रष्टाचारको कसुरमा समेत मुद्दा चलाउन राय दिएको छ।
सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रहरीले सोमबार नै पत्र पठाइसकेको छ।