काठमाडौं । ७० करोड कमिशन मागेको विवादमा मुछिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । उनले राजीनामा दिइसकेको अनौपचारिक जानकारी सभामुख अग्नि सापकोटाले संसदलाई गराएका छन् । मन्त्री बाँस्कोटाको राजीनामा माग गर्दै बिहीबार प्रतिपक्ष कांग्रेसले प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गर्ने प्रयास गरेको थियो ।
जवाफमा सभामुख अग्नी सापकोटाले भने, ‘मलाई औपचारिक जानकारी त आाएको छैन, तर सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नुभएको जानकारी आएको छ ।’ सोही विषयलाई लिएर आज कांग्रेसले राष्ट्रिय सभा पनि अवरुद्ध गरेको छ । सांसदहरुले राजीनामाले मात्रै नपुग्ने र उनलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
सेक्युरिटी प्रेस खरिद प्रक्रिया रोक्न लेखा समितिको निर्देशन यता, संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखा समितिले दिएको पत्रमा ‘अर्को निर्णय नहुँदासम्म सो प्रक्रिया यथास्थितिमा राख्न’ भनिएको छ ।
समितिको बिहीबार बसेको बैठकले सो प्रक्रिया अघि नबढाउन निर्देशन दिने निर्णय गरेको हो । सेक्युरिटी प्रेस खरिदका क्रममा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ कमिशन मागेको अडियो बाहिरिएपछि मन्त्री बाँस्कोटा विवादमा तानिएका हुन् ।